
चितवन,असार २०
रत्ननगर नगरपालिकालाई आगामी एक बर्ष भित्र बालश्रम मुक्त तथा बालमैत्री नगर घोषणा गरिने भएको छ । बालश्रम मुक्त तथा बालमैत्री नगर घोषणा कार्यक्रम अन्तर्गत आइतवार आयोजना गरेको चेतनामुलक तथा प्रतिबद्धता कार्यक्रममा वालमैत्री नगर घोषणाको काम अन्तिम चरणमा पुगेकोले अबको एक बर्ष भित्र भव्य कार्यक्रमको आयोजना गरि घोषणा गरिने नगरपालिकाले जनाएको छ । कार्यक्रममा मेयर नारायण वनले कोरोनाका कारण केही ढिला भएको भएपनि अबको एक बर्ष भित्र रत्ननगरलाई वालश्रम मुक्त र वालमैत्री नगर घोषणा गर्ने बताए । हाम्रो कार्यकालमा घोषणा गर्ने छौं उनले भने लगभग लगभग हामी अन्तिम चरणमा पुगेका छौं । अहिले सम्म ६ वटा वडालाई बालश्रम मुक्त तथा बालमैत्री वडा घोषणा गरिसकिएको भन्दै उनले मापदण्ड र प्रक्रिया पुरा गरी एक बर्ष भित्र नगरलाई नै बालमैत्री नगर घोषणा गर्ने बताए । उनले रत्ननगर बालश्रम मुक्त,बाल विवाह मुक्त,बालमैत्री र सहयोगापेक्षी सडक मानब मुक्त नगर घोषणा गर्ने अन्तिम चरणमा रहेको जानकारी दिए ।
कार्यक्रममा पर्यटकीय नगरी सौराहा तथा टाँडी बजारका होटल व्यवसायीहरुले उमेर नपुगेका कुनै पनि वालवालिकालाई काममा नलगाउने लिखित प्रतिबद्धता जनाएका छन् । व्यवसायीहरुले स्थानीय सरकारले सुरु गरेको अभियानलाई साथ दिने भन्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका हुन । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराई,निर्वतमान अध्यक्ष सुमन घिमिरे,रेष्टुरेष्ट एण्ड बार एशोसियसन चितवनका अध्यक्ष दीपेन्द्र खतिवडा लगायत टाँडीका पुराना होटल व्यवसायीहरुले बालवालिकालाई अहिले सम्म श्रममा नलगाएको र अब पनि नलगाउने भन्दै प्रतिबद्धता जनाएका हुन । उपमेयर विमला दुवाडीले बालश्रमिकको उद्दार,उनीहरुलाई शिक्षा र अभिभावकलाई आयआर्जनको लागि सहयोग गरिरहेकाले घोषणाको काम तोकिएकै समयमा हुने विश्वास व्यक्त गरिन ।
कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख महिला विकास अधिकृत दीपा घिमिरे र अधिबक्ता रामकृष्ण अधिकारीले सहजीकरण गरेका थिए । सामाजिक विकास समितिका संयोजक केशव आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा महिला विकास निरीक्षक रञ्जना पौडेल,सहायक महिला विकास निरीक्षक जयन्ती रानाभाटले व्यवस्थापनको काम गरेका थिए ।