चितवन,असार १९
रत्ननगर नगरपालिकाभित्रका बालबालिकालाई बालश्रम न्यूनीकरण तथा क्षमता विकाससम्बन्धी प्रशिक्षण दिइएको छ ।रत्ननगर नगरपालिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाले नगरस्तरीय बालक्लब र वडास्तरीय बालक्लबका पदाधिकारीहरुलाई बालश्रम न्यूनीकरण, क्षमता विकास र अधिकारका विषयमा प्रशिक्षण दिएको हो । बालबालिकालाई महिला विकास अधिकृत दीपा घिमिरेले बालश्रम न्यूनीकरण, बालमैत्री नगर निर्माण, सहयोगापेक्षी सडक मानवमुक्त, बालअधिकार, बालसंरक्षण, बालविकास तथा पदाधिकारीको काम र कर्तव्यका विषयमा प्रशिक्षण दिएकी थिइन् ।
रत्ननगर नगरपालिकालाई बालश्रममुक्त र बालमैत्री नगर घोषणाको तयारीमा रहेको र त्यसका लागि बालबालिकाले बालश्रम न्यूनीकरणका पूरा गर्नुपर्ने सूचकहरुको विषयमा पनि जानकारी गराइएको महिला विकास अधिकृत घिमिरेले जानकारी दिइन् । कार्यक्रममा मेयर नारायण वनले रत्ननगरका ६ वटा वडालाई बालमैत्री घोषणा गरिसकिएकोले बाँकी १० वटा वडालाई पनि छिट्टै बालमैत्री वडा घोषणा गर्ने बताए । कोरोना महामारीका कारण बालश्रम न्यूनीकरणका लागि गर्नुपर्ने काममा ढिलाइ भएको भन्दै उनले अब कामलाई तीव्रता दिएर अगाडि बढ्ने बताए ।
कार्यक्रममा उपमेयर विमला दुवाडीले बालबालिकालाई अधिकारसम्पन्न बनाउँदै नगरलाई नै बालमैत्री घोषणा गरिने बताइन् । कार्यक्रममा नगरस्तरीय बालक्लबकी अध्यक्ष रोनिशा घिमिरेले बालअधिकार स्थापित गराउने काममा रत्ननगर नगरपालिका अन्य नगरको तुलनामा अगाडि रहेको बताइन् । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक केशव आचार्य, वडा नं ८ का वडाध्यक्ष विनोद बस्नेत, कार्यपालिका सदस्य राजेन्द्र हमाल, महिला विकास निरीक्षक रञ्जना पौडेल, सहायक महिला विकास निरीक्षक जयन्ती रानाभाटलगायतको सहभागिता रहेको थियो ।