चितवन,असार १६
संयुक्त दलित संघर्ष समिति चितवनले सञ्चारकर्मी रूपा सुनारमाथि भएको जातीय विभेदको घटनामा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विभेदको संरक्षण गरेको भन्दै चितवनमा विरोध प्रदर्शन गरेको छ । पीडित पक्षलाई न्याय दिलाउने ठाउँमा मन्त्रीबाट नै भएको गलत कार्यको विरोध गदै समितिले वुधबार चितवनमा विरोध प्रदर्शन गरेको हो ।
सञ्चारकर्मी सुनारले बबरमहलकी घरधनी सरस्वती प्रधानले जात थाहा पाएपछि कोठा नदिएको भन्दै महानगरीय वृत्त अनामनगरमा असार ३ गते जाहेरी दिएकी थिइन । जाहेरीको आधारमा प्रहरीले आरोपितलाई दश दिन अघि पक्राउ गरी मुद्दाको प्रक्रिया अघि बढाएको थियो । अनुसन्धानको क्रममा रहेको मुद्दामा शिक्षामन्त्री श्रेष्ठले पक्राउ परेको दुइ दिन पछि प्रहरी वृत्तमै पुगेर प्रधानलाई रिहा गराएका थिए ।
विरोध सभामा बोल्दै नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य खेम दर्जीले जातीय विभेद र छुवाछुतको मुद्दामा पीडकको संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गरेका छन् । त्यस्तै नेपाल दलित संघका केन्द्रीय सदस्य विपिन रामुदामुले दलित समुदायमाथि भएको यस्तो विभेद खेदजनक रहेको भन्दै मन्त्रीले गरेको हर्कतहरु क्षमा लायकको नरहेको बताएका छन् । सभामा नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्माले जातीय विभेदकारी सबै घटनाका दोषीलाई कानुनी कारबाहीको माग गरेका छन्। विभेद मुक्त समाजको परिकल्पना कर्ता कम्युनिष्ट सरकारको शिक्षामन्त्रीबाटै यस्तो हर्कत हुनु भनेको सम्पूर्ण दलित आन्दोलन र दलित समुदायलाई जिस्क्याउन खोजेको उनले आरोप लगाए ।
विरोध सभाका अध्यक्षता समेत गरेका नेपाल दलित मुक्ति मोर्चा चितवन अध्यक्ष देवीराम विश्वकर्माले यो विरोध सभा साङ्केतिक विरोध सभा भएको बताएका छन्। यदि पीडितले न्याय र मन्त्री श्रेष्ठले राजीनामा नदिएमा थप आन्दोलनको कार्यक्रम अगाडी वढाउने चेतावनी दिए ।
सभामा नेकपा एमालेका नेता कृष्णराज लब्ली, नेकपा माओवादी केन्द्रका नेता द्रोणबाबु शिवाकोटी, अखिल महिला संघ क्रान्तिकारी चितवनकी अध्यक्ष संगिता भट्टराई, मानवअधिकारकर्मी यमबहादुर विश्वकर्मा, दलित अधिकारकर्मी टुलकप्रसाद विश्वकर्माले घटनाको विरोध गर्दै ऐक्यबद्धता मूलक आफ्नो धारणाहरू राखेका थिए ।
नेपाल दलित मुक्ति मोर्चा, नेपाल उत्पीडित जातीय मुक्ति समाज, समाजवादी दलित मुक्ति महासंघ, विश्वकर्मा सेवा समिति, विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जाल केन्द्रीय कार्यालय चितवन, मिजार सेवा समिति, परियार सेवा समाज, विश्वकर्मा सेवा समिति भरतपुर १४, दलित नागरिक समाज, धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवन, दलित युवा जागरण मञ्च नेपाल, राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला कार्यसमिति चितवन आवद्ध संयुक्त दलित संघर्ष समिति चितवनले आज विरोध सभा गरेको थियो।