रत्ननगर नगरपालिकाले घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने

June 30, 2021 5:40 pm

रत्ननगर,असार १६
रत्ननगर नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने भएको छ । नगरपालिकाले भोली विहीवार देखि ८० बर्ष माथीका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्न लागेको हो । नगर भित्र ८० बर्ष माथीका करिब एक हजार जना ज्येष्ठ नागरिक रहेका छन् । १६ वटा वडा रहेको नगरपालिकामा एउटा वडामा एकजना स्वास्थ्यकर्मी परिचालन गरिने स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पुरा गरी स्वास्थ्य परीक्षण गरिने पौडेलले बताए । स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकको मेधुमेह,रक्तचाप परीक्षण गर्ने र आवश्यकता अनुसार स्वास्थ्य परामर्श गर्ने उनले जानकारी दिए । नगरपालिकामा जानकारी दिन आयोजित कार्यक्रममा मेयर नारायण वनले स्वास्थ्यकर्मीहरुलाई मधुमेह परीक्षण गर्ने गुल्कोमिटर,रक्तचाप परीक्षण गर्ने मेसिन हस्तान्तरण गर्दै जिम्मेवार भएर काममा लाग्न आग्रह गरे । ज्येष्ठ नागरिक हाम्रा अभिभावक हुन उनले भने उनीहरुको रेखदेख र स्वास्थ्य परीक्षण गर्नु हाम्रो दायित्व हो । देखाउनका लागि आफुले यो काम नगरेको भन्दै उनले परिणाम आउने गरी काम हुने बताए । रत्ननगरले ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण गर्ने कामको सुरुवात तीन बर्ष अघि सुरु गरेको हो ।