
चितवन,असार १४
कालिका नगरपालिकाले मौरी पालक कृषकलाई ५० प्रतिशत अनुदानमा मौरी घार र मह भण्डारण बाल्टी वितरण गरेको छ । नगरपालिकाले ३८ जना कृषकलाई ४ लाख १ हजार २५० रुपैयाँ बराबरको मौरी घार र मह भण्डारण बाल्टी वितरण गरेको हो । नगरपालिकाले १२ जना कृषकलाई ९० थान मौरी घार र २६ जना कृषकलाई ५०० थान मह भण्डारण बाल्टी प्रदान गरेको नगरपालिकाका कृषी शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए । नगरपालिकाले कृषकलाई मौरी घार र बाल्टी खरिदमा २ लाख ४३ हजार ७५० सहयोग गरेको हो भने बाँकी रकम कृषकले भुक्तानी गरेको कृषी शाखा प्रमुख पौडेलले वताए ।
सामग्री वितरण कार्यक्रममा कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठले मौरी पालक कृषकलाई ब्यवसायिक रुपमा अगाडी वढ्न आग्रह गर्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । नगरप्रमुख श्रेष्ठले कम लगानीमा मौरीपालन ब्यवसायबाट राम्रो आम्दानी गर्न सकिने भएकोले नगरपालिकाले कृषकलाई उपलब्ध गराएको अनुदान बाट ब्यवसायमा थप टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्वर ३ का वडाध्यक्ष टिकाराम रिजाल, समाजसेवी रामध्वज डल्लाकोटी ,मिलिजुली मौरी पालन सहकारी संस्था लिमिटेडका अध्यक्ष सन्त बहादुर लामा लगायतको उपस्थिती रहेको थियो ।