लक्ष्मण सापकोटा/चितवन,असार १३
साना किसान कृषि सहकारी पदमपुरलाई कालिका नगरपालिकाले ५० प्रतिशत अनुदानमा ट्रयाक्टर सहयोग गरेको छ । आइतबार सहकारीको कार्यालयमा आयोजित कार्यक्रममा नगरप्रमुख खुमनारायण श्रेष्ठले संस्थाकी अध्यक्ष गोमा सिंखडालाई १ थान ट्रयाक्टर हस्तान्तरण गरेका हुन । ट्रयाक्टरसंगै प्रयोगमा आउने कल्ट्री,रोटाभेटर र हाइरो पनि ५० प्रतिशत अनुदानमा हस्तान्तरण गरिएको नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए ।
सहकारीलाई उपलब्ध गराएको ट्रयाक्टरको मुल्य १४ लाख ४ हजार ९ सय ९९ मा नगरपालिकाले ६ लाख ३७ हजार ५०० सहयोग गरेको हो भने बाँकी रकम सहकारीले भुक्तानी गरेको हो । ट्रयाक्टरसंगै नगरपालिकाले सहकारीलाई ४० हजार रुपैयाँको कल्ट्री खरिदमा १६ हजार रुपैयाँ, एक लाख ५५ हजार रुपैयाँको रोटाभेटर खरिदमा ८० हजार रुपैयाँ र ७२ हजार रुपैयाँको हाइरो खरिदमा ३७ हजार ५०० रुपैयाँ सहयोग गरेको कृषि शाखा प्रमुख पौडेलले जानकारी दिए ।
ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख खुमनारायण श्रेष्ठले संस्थालाई कार्यविधि वनाएर ट्रयाक्टर प्रयोग गर्न सुझाब दिदै ट्रयाक्टरको दुरुपयोग नहुने विश्वास ब्यक्त गरे । श्रेष्ठले सहकारीलाई ट्रयाक्टर कृषि प्रयोजनका लागि मात्र प्रयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष गोमा सिंखडाले अनुदानमा ट्रयाक्टर उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद दिदै आगामी दिनमा पनि नगरपालिका संग हातेमालो गरेर अगाडी वढ्ने वताइन् । सिंखडाले ट्रयाक्टर कृषि प्रयोजनका लागि मात्रै प्रयोग हुने वताउदै दुरुपयोग नगर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।
महिलाद्धारा संचालित २०६६ सालमा स्थापना भएको साना किसान कृषि सहकारी संस्थामा हाल २ हजार ३२५ जना सदस्य रहेको छन् । ट्रयाक्टर हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत अच्युत राज रेग्मी, भाजुरत्न ट्रेडीङ भरतपुरका प्रबन्धक बालकृष्ण भट्टराई लगायतको उपस्थिती रहेको थियो ।