चितवन,असार १२
कालिका नगरपालिकाले अनुदानमा कृषकलाई कृषि सामग्री वितरण गरेको छ । नगरपालिकाले शुक्रबार ३२ जना कृषकलाई २३ लाख ५३ हजार ८८५ रुपैयाँ बराबरको कृषि सामग्री तथा उपकरण वितरण गरेको हो । नगरपालिकाले १२ लाख रुपैयाँ र कृषकले ११ लाख ५३ हजार ८८५ रुपैयाँ भुक्तानी गर्ने गरि सामग्री वितरण गरेको नगरपालिकाका कृषि शाखा प्रमुख शिवराज पौडेलले जानकारी दिए ।
नगरपालिकाले शुभ लक्ष्य ब्यवसायिक तरकारी पकेट मार्फत कृषकलाई विउविजन तर्फ ६ लाख ७ हजार २० रुपैयाँ, उपकरण तर्फ १६ लाख ४ हजार १२० रुपैयाँ र सिंचाई पुर्वाधार तर्फ १ लाख ४२ हजार ७४५ रुपैयाँको सामग्री वितरण गरेको ब्यवसायिक तरकारी पकेटका अध्यक्ष चन्द्रध्वज तामाङले जानकारी दिए । सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख खुमनारायण श्रेष्ठले कृषकलाई मनग्य आम्दानी गर्न सकिने वाली नगदेवालीमा लाग्न जोड दिदैें आवश्यक सहयोगको लागि नगरपालिका सदैव तयार रहने प्रतिवद्धता ब्यक्त गरे । श्रेष्ठले नगरपालिकाको चिनारी कृषि क्षेत्र भएकोले कृषकहरुलाई थप हौसला प्रदान गर्न अनुदानमा सामग्री उपलब्ध गराएको जानकारी दिए ।
२०७३ सालमा शुभ लक्ष्य कृषि समुह गठन गरेर २०७७ मा पकेट क्षेत्र स्थापना गरि तरकारी उत्पादन गरिरहेका नगरपालिकाका किसानले उत्पादित तरकारी नारायणगढ,काठमाण्डौ र पोखरामा विक्री गरिरहेका छन् । सामग्री तथा उपकरण हस्तान्तरण कार्यक्रममा वडा नम्वर १ का वडाध्यक्ष लिला वहादुर गुरुङ, शुभ लक्ष्य कृषि समुह तथा ब्यवसायिक तरकारी पकेटकी सचिव कमला तामाङ लगायतको सहभागिता रहेको थियो ।