काठमाडौ
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएर विद्रोहमा उत्रिएको बताएका छन्।
शनिबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता नेपालले ओली कुनै पनि हालतमा नसुध्रने दाबी गर्दै भने, ‘बालुवा पेलेर तेल निक्लनेवाला छैनन्, ओली सुध्रदैनन्।’
नेता नेपालले आफूहरुको लडाइँ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको बताए।लोकतन्त्रको रक्षा, जनताको अधिकार रक्षा, संविधान बचाउन, संघीयता जोगाउन आफूहरूको लडाइँ भएको स्पष्ट पारे।उनले ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको उल्लेख गर्दै ओलीले सत्ताबाहेक अरु नदेखेको आरोपसमेत लगाए।
पाँच दलीय गठबन्धनले राजनीतिक बिटका पत्रकारसँग गरेको अन्तरक्रियामा बोल्दै नेता नेपालले अगाडि भने, ‘ग्रास रूडले मेरो विश्वास गरेको छ। त्यसमा मेरो समर्थन छ त्यहीँ भएर ममाथि कन्फिडेन्स बढेको हो।’
उनले ओलीबाट आफूलाई प्रधानमन्त्रीको प्रस्तावसमेत आएको बताए। ‘मलाई प्रधानमन्त्रीको प्रस्ताव आइसकेको छ। देउवालाई बिचमै छोड्दिनुस तपाईँ प्रधानमन्त्री बन्नुस् भनेका थिए। मैले माधव नेपालले अरूलाई धोका दिँदैन भनेर जवाफ फर्काएँ’, उनले भने, ुगठबन्धनको तर्फबाट जुन प्रक्रिया अघि बढिसकेको छ, त्यसमा धोका दिने पक्षमा म छैन।
नेता नेपालले आफूले पदका लागि बिद्रोह नगरेको स्पष्ट पारे। ‘मैले पदका लागि यो विद्रोह गरेको होइन। केपी ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएर विद्रोहमा उत्रिनुपरेको हो।
उनले ओली सच्चीएर आए आफूले स्वीकार्ने समेत बताए। ‘ओलीजीले गलत विचार बोक्नुभएको छ। बुद्ध भएर फर्किनुहुन्छ भने हामी स्वीकार्छौ।