कालिका नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

June 25, 2021 7:34 pm

चितवन,असार ११
नेपाल ग्रामीण पुर्ननिर्माण संस्था (आरआरएन)ले कालिका नगर अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । आरआरएनले शुक्रबार अस्पतालमै पुगेर १० लाख ५३ हजार ३७० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संस्थाले अस्पताललाई सहयोग गरेको सामग्रीमा अटोमेटिक हेन्ड सेनिटाइजर ५ थान, फेस सिल्ड १३० थान, पल्स अक्सिमिटर ५० थान ,पिपिइ सेट १३० थान ,सर्जिकल ग्लोब्स १३० थान,सर्जिकल मास्क १३० थान,हेन्ड सेनिटाइजर ५० वोतल,आइसोलेसन किट १५० थान लगायतको सामग्री रहेको छ ।

आरआरएनका क्षेत्रीय संयोजक राम ढुङ्गानाले कालिका नगरपालिकाका नगरप्रमुख खुमनारायण श्रेष्ठलाई स्वास्थ सामग्री हस्तान्तरण गर्दै कोरोनाको विरामीको उपचारमा टेवा पुगोस भन्ने हेतुले अस्पतालाई आवश्यक सामग्री सहयोग गरेको वताए । सामग्री वुझेपछि नगरप्रमुख श्रेष्ठले कोरोना संक्रमणको अप्ठेरो अवस्थामा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा आरआरएनलाई धन्यवाद दिदै सहयोग सामग्रीले कोरोनाका विरामीको उपचारमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कालिका नगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष टिकाराम रिजाल,नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी,अस्पताल प्रमुख स्वपनील शर्मा लगायतको उपस्थिती रहेको थियो ।