सभापति उठ्ने तयारी गरिरहेका विमलेन्द्र, शशांक र प्रकाशमानको सन्देश ,गुट तोड्न छलफल गरिएको हो

June 25, 2021 4:10 pm

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्ज पुगेर महाधिवेशन केन्द्रित छलफललाई निरन्तरता दिएका छन्।
उनीहरू तीनै जना भदौमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्। आजको छलफलपछि महामन्त्री कोइरालाले आफूहरू एकै ठाउँमा रहेको र सभापति को उठ्ने भन्ने पछि नै निर्णय गरिने बताए।

सभापतिमा तीनै जना उठ्ने कि एकअर्कालाई सहयोग गरेर एकमात्रै उम्मेदवार बनाउने भन्नेबारे केन्द्रित रहेर उनीहरूले छलफललाई तीव्रता दिएका छन्।
महामन्त्री शशांक कोइरालाले पार्टीलाई गुटरउपगुटमा विभाजित गर्दा धरासायी हुने भएकाले महाधिवेशन र त्यसपछि हुने निर्वाचन जित्न पनि एकजुट भएर जानु पर्नेमा जोड दिए।उनले पार्टी सभापति को हुने भन्नेबारे पछि निर्णय गरिने बताए।
‘हामी एकै ठाउँमा छौं, को सभापति हुने भन्ने हामी निर्णय गर्छौं,’ कोइरालाले भने, ‘त्यसबारे छलफल गर्न बाँकी नै छ। फेरि छलफल भइहाल्छ।’

निधि र सिंहसहित आफू पनि एकै टिममा रहने सम्भावनाको संकेत कोइरालाले देखाएका छन्। २०७२ सालमा भएको कांग्रेसको महाधिवेशनमा कोइराला वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट उठेर महामन्त्री जितेका थिए। कोइराला अहिले पनि पौडेल पक्षमै छन्। उनले आजै वरिष्ठ नेताले बोलाएको महाधिवेशन केन्द्रित छलफलमा आफूहरू सहभागी हुने जानकारी दिए।
‘वरिष्ठ नेताले बोलाएको छलफलमा जाने हो, किन नजाने?,’ उनले भने।
‘पार्टीलाई देशको एक नम्बरको पार्टी बनाउनु पर्छ भन्ने जनताको चाहना छ। कार्यकर्ताको चाहना छ,’ उनले भने, ‘लोकतन्त्र र कांग्रेसको हितमा कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्नेबारे हामी छलफल गर्दैछौं।’
उनले नेतृत्व कसले गरेर जाने भन्नेबारे समय आएपछि थाहा हुने पनि बताएका छन्।
निधि, कोइराला र सिंह कांग्रेसका संस्थापक नेताहरू महेन्द्रनारायण निधि, विपी कोइराला र गणेशमान सिंहका छोरा हुन्। ।

उपसभापति निधिले अलग(अलग गुटका नेता एकै ठाउँमा बस्नु भनेको गुट तोड्न भएको दाबी गरेका छन्। उनले नयाँ गुट बनाउने आफूहरूको चाहना नभएको दाबी गरेका थिए। निधिका अनुसार आज राष्ट्रिय राजनीतिबारे पनि छलफल भएको थियो।
‘पार्टी सभापति, वरिष्ठ नेता र केन्द्रीय समितिका सबै नेतासँग हामी छलफल गर्छौं,’ उनले भने, ‘हामी छलफलबाटै अगाडि बढ्छौं।’उनले देशभरका कार्यकर्ताको भावनाअनुसार नै अगाडि बढ्ने पनि बताए।
‘कांग्रेस राम्रो भएर आओस् भनेर सबैले चाहेका छन,’ उनले भने। उनले सभापति को लड्ने भन्ने एकै आवाज हुने पनि बताए।निधि लामो समयदेखि पार्टी सभापति शेरबहादुर देउवा निकट थिए। यसपटक सभापतिमा देउवाले नै दोहोरिने बताएपछि निधि असन्तुष्ट छन्। ।