माओवादीबाट चुनाव जिते पछि एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद खाली

June 25, 2021 7:16 am

काठमाडौं ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ ।

निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो ।
७ गते असारमा बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले उनीहरुलाई पार्टीबाट निष्कासन गरेको औपचारिक निर्णय गरी त्यसको जानकारी निर्वाचन आयोगलाई गराएको थियो ।
पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन ।
त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो ।

त्यसपछि ७ असारमा भर्चुअल विधिबाट केन्द्रीय समितिको बैठक बसेर माओवादीले उनीहरुलाई पार्टीबाट निष्कासित गरिएको निर्णयलाई औपचारिकता दिएको थियो ।