लक्ष्मण सापकोटा/असार १०,चितवन
कालिका नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले नवौं नगरसभामा आर्थिक वर्ष २०७८/७९ का लागी १ अर्व ७ करोड २२ लाख ३९ हजार रुपैयाँ वरावरको बजेट सार्वजनिक गरेको हो ।
नगरसभामा नगरपालिकाकी उपप्रमुख कमला भट्टराईले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ वडा र राजस्व शाखाबाट ४ करोड,रजिष्ट्रेसन शुल्क मालपोत बाट ४ करोड ,राजश्व वाडफाड खोला जन्य बाट एक करोड, संघिय सरकारतर्फ सशर्त अनुदानवाट २४ करोड ७ लाख ,सामानिकरण अनुदानबाट १४ करोड ६९ लाख ,राजश्व बाडफाडबाट ९ करोड ५७ लाख ६२ हजार,समपुरक अनुदानबाट १ करोड ४५ लाख आय हुने अनुमान गरिएको छ ।
त्यस्तै प्रदेश सरकार तर्फ सामानिकरण अनुदानबाट १ करोड २५ लाख ७२ हजार,सशर्त अनुदानबाट २ करोड १९ लाख ४४ हजार , राजस्व बाँडफाडबाट ४ करोड ७४ लाख ६२ हजार , समपुरक अनुदानबाट २ करोड ९९ लाख ८८ हजार र विशेष अनुदानबाट ३० लाख आय हुने अनुमान गरिएको उपप्रमुख भट्टराईले जानकारी दिइन् ।
नगरपालिकाले विश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमितको उपचारलाई प्रभावकारी वनाई समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्ने निती लिएर आगामी आर्थिक बर्षको लागी स्वास्थतर्फ २ करोड ९३ लाख ६५ हजार रुपैयाँ विनीयोजन गरेको छ । उत्पादनमा आत्मनिर्भर वन्दै गएको नगरपालिकाले कृषि र पशुपालन ब्यवसायीलाई थप सहुलियत प्रदान गरि प्रतिस्प्रधी ,ब्यवस्थित,गुणस्तरिय र निर्यातयोग्य वनाउने उद्धेश्य लिएर कृषितर्फ ४९ लाख रकम विनीयोजन गरेको छ । त्यस्तै शैक्षीक पुर्वाधार निर्माणलाई निरन्तरता दिदै सामुदायिक शिक्षालाई गुणस्तरिय वनाउने लक्ष्य लिएर नगरपालिकाले आगामी आर्थिक वर्षका लागी शिक्षातर्फ २ करोड ३९ लाख २८ हजार रकम विनीयोजन गरिएको उपप्रमुख भट्टराईले वताइन् । नगरपालिकाले आधारभुत शहरी तथा ग्रामीण पूर्वाधार निर्माणलाई सरकारी निजी क्षेत्र संग सहकार्य गरि पुर्वाधार निर्माण गर्ने उद्धेश्य लिएर पुर्वाधार तर्फ १२ करोड ३९ लाख ६१ हजार रकम विनीयोजन गरेको छ ।
चालु आर्थिक वर्षमा नगरपालिकाले ३ करोड ३ लाख राजश्व संकलन हुने अनुमान गरेकोमा जेष्ठ मसान्त सम्म २ करोड ७७ लाख मात्र उठेको र आर्थिक वर्षको अन्त्यमा ३ करोड संकलन हुने संसोधित अनुमान पेश गरेको नगर उपप्रमुख भट्टराईले जानकारी दिइन् । त्यस्तै चालु आर्थिक वर्षमा नगरपालिकाको कुल खर्च १ अर्व ४ करोड ९२ लाख हुने अनुमान गरिएकोमा संघिय सरकार तथा प्रदेश बाट थप बजेट प्राप्त भई १ अर्व १३ करोड ३२ लाख कायम भएको भट्टराईले वताइन् । नगरपालिकाको चालु आर्थिक बर्षको जेष्ठ मसान्त सम्म चालु तर्फ ४० करोड ७२ लाख मध्य २८ करोड ६३ लाख अर्थात ७० दशमलव ३१ प्रतिशत खर्च र पूँजिगत तर्फ ७२ करोड ६० लाख मध्य ३० करोड ९७ लाख अर्थात ४२ दशमलब ६६ प्रतिशत खर्च भएको नगरपालिकाले बजेट बक्तब्यमा उल्लेख गरेको छ ।
नगर सभामा वोल्दै नगरप्रमुख खुमनारायण श्रेष्ठले आर्थिक वर्ष २०७६/७७ मा २३ किलोमीटर सडक कालोपत्रे भएको वताउदै शहरी क्षेत्रका मुख्य सवै सडकहरु कालोपत्रे भइसकेको र सहायक सडकहरु पनि स्तरोन्नती हुने कार्य निरन्तर रुपमा अगाडी वढेको जानकारी दिए । नगरप्रमुख श्रेष्ठले आगामी आर्थिक वर्षको लागी नगरपालिकाले कृषि , स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने वताए ।