
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका नारायणी नदीले डुबान र कटान गरेका क्षेत्रहरूको स्थलगत अनुगमन गरेका छन्।
दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २६ को सिसई क्षेत्रको अनुगमन गरेका हुन्।
उनले नारायणी र राप्ती नदीको डुबान र कटानको समस्या स्थायी रूपमै समाधान गर्न आफूले यसको विस्तृत गुरूयोजना बनाई काम अगाडि बढाएको र आवश्यक बजेट सुनिश्चितताको लागि पहल गरिरहेको बताए।
दाहालले डुबानको पीडामा परेका स्थानिय समुदायलाई सुरक्षित रहन आग्रह गर्दै नारायणी नदीको वर्षेनी हुने डुबान र कटानको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे।
अध्यक्ष प्रचण्डले आफूलाई यस क्षेत्रका समस्याहरूको जानकारी भएको भन्दै नदी तटबन्धन र डुबानका साथै जंगली जनावरका कारण भइरहेको क्षति न्यूनीकरण गर्न आफूले अर्थमन्त्रीसँग आवश्यक बजेटका लागि कुरा गरिसकेको समेत बताए।
मंगलबार नै यस सम्बन्धी भएका कामहरूका बारेमा अध्यक्ष प्रचण्डले जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालय प्रमुखहरूसँग छलफल समेत गर्ने भएका छन ।
बाढीले भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को दोभान चोक, वडा नम्बर १६ को झनझने र वडा नम्बर २६ को सिसईमा गरी २५० घर डुबानमा परेका थिए। एक सय बिगाहा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो।