आईसीयू र भेन्टिलेटरका बिरामी घटे

June 19, 2021 9:53 am

काठमाडौं ।
कोभिड १९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन ।
संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू र भेन्टिलेटरमा पनि बिरामीको संख्या घट्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमण ओरोला लाग्दा पनि यसअघि अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप भने यथावत नै रहेको थियो ।
जेठ २२ देखि २८ गतेसम्मको सात दिनको अवधि मूल्यांकन गर्दा आईसीयूमा सबैभन्दा बढी १४५१ जना संक्रमित उपचाररत देखिन्छ भने भेन्टिलेटरमा ३९७ जना उपचाररत छन् । सो साताको अन्तिम दिन जेठ २८ गते आईसीयूमा ११८९ र ३६६ जना भेन्टिलेटरमा उपचाररत छन ।

जेठ २९ गते आईसीयूमा १२०६ जना संक्रमित उपचाररत रहेकोमा असार ४ गते यो संख्या घटेर ८७२ मा आइपुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जेठ २९ गते भेन्टिलेटरमा ३७३ संक्रमित उपचाररत छँदा जेठ ४ गते २४६ जना मात्रै उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा संक्रमितको चाप घटेसँगै कोभिड वार्डमा रहेका बाँकी संक्रमितलाई वीरको सर्जिकल वार्डमा सारिएको डा सन्तोष पौडेलले बताए ।‘संक्रमितको चाप घटेसँगै ट्रमा रहेका केही संक्रमितलाई शुक्रबारबाट वीरमा सारेका छौं,’ उनले भने, ‘१० बेडको आईसीयूमा पनि अहिले पाँच जनामात्रै संक्रमित उपचाररत छन।’
पछिल्लो साता कोरोना संक्रमण केही प्रतिशत घटबढ देखिए पनि संक्रमणको जोखिम भने अझै कायम नै रहेको जनस्वास्थ्य विद्हरु बताउँछन ।