पोखरा,असार ४
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका पोखरेलले विश्वासको मत प्राप्त गरेका हुन् । ५८ सांसदले मतदान गरेकामा उनको पक्षमा ३१ सांसदले मतदान गरे । नेकपा एमालेका २७ सांसदले भने विपक्षमा मतदान गरेका थिए ।नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेल माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । प्रदेशसभामा विपक्षी दल एमालेको २७, नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादी पार्टीको २ सांसद छन् भने एक जना स्वतन्त्र सांसद छन् ।