कालिका नगरपालिकाको निति तथा कार्यक्रममा भुमीहीन र विपन्न परिवारलाई प्राथमिकता

June 17, 2021 6:41 pm

लक्ष्मण सापकोटा/चितवन,असार ३

आगामी आर्थिक वर्ष कालिका नगरपालिकाले भुमीहीन र विपन्न परिवारलाई प्राथमिकतामा राखेर काम गर्ने भएको छ । बिहिबार निति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख खुमनारायण श्रेष्ठले यो कुरा वताएका हुन् ।

भुमीहीन,विपन्न,गाँस,बास र कपासको आधारभुत आवश्यकताका लागि संघर्ष गरिरहेका जनताको लागि स्थानिय सरकारको अनुभूत गर्ने गरी काम गर्ने नगरपालिकाको निती रहेको वताउदै श्रेष्ठले विपन्न जनताका लागि मेयर आवास कार्यक्रम लागु गरिने जानकारी दिए । रोजगार ,जनता आवास तथा उद्यम विकास कार्यक्रम जस्ता नगरवासिको जीवनशैलीमा प्रत्यक्ष परिवर्तन ल्याउने खालका कार्यक्रम संचालन गर्ने नगरपालिकाको निती तथा कार्यक्रममा उल्लेख छ ।

निति कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकामा बढ्दो जनसंख्याको चाप र सहरीकरणलाई ब्यवस्थीत गर्न खुला स्थानहरुको पर्याप्त ब्यवस्था गर्ने ,सरकारी र सार्वजनिक जग्गाको संरक्षण गर्दै बाटिका निर्माण गरी नगरपालिकाको सौन्दर्यता अभिबृद्धि गर्ने निती रहेको वताए ।
कृषि र पशुपालनको क्षेत्रमा आगामी आर्थिक वर्षका लागि उत्पादन र उत्पादकत्व बृद्धि गर्न कृषकहरुलाई मल बिउ वितरणमा अनुदान,प्राविधिक सहयोग र साना तथा मझौला सिंचाई आयोजन संचालन गर्ने नगरपालिकाको निति तथा कार्यक्रम रहेको छ । कृषी र पशुपालनलाई ब्यवसायिकरण गर्दै नगरबाट कृषि तथा पशुजन्य उत्पादन निर्यातमा सहजीकरण गर्ने निति अवलम्बन गर्ने पनि नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।


संघिय सरकारले जारी गरेको लैङ्गीक समानता तथा सामाजिक समावेशीकरण नितिलाई स्थानीयकरण गरी आवश्यक कार्यक्रम नगरपालिकाले संचालन गर्नेछ । नगरपालिकाले बजेट तथा कार्यक्रमलाई लैङ्गीक सहभागिताको अनुपात हेरि कमजोर क्षेत्रलाई थप प्राथमिकता दिई कार्यक्रम संचालन गर्ने निति तथा कार्यक्रममा उल्लेख छ । आमाविहिन अति विपन्न बालबालिकालाई विशेष आर्थिक सहायताको योजना ल्याई महिला बालबालिकालाई कुनै पनि हिंसाजन्य तथा दुब्र्यवहार वा जोखीममा परेमा तत्काल उद्धार गर्न कोष स्थापना गरी संरक्षण गर्ने ब्यवस्था मिलाईने निति तथा कार्यक्रममा उल्लेख छ ।

नगरपालिकाको निति तथा कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्धन गर्न नगर क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रहरुको पहिचान तथा विकास गर्न पर्यटन प्रोफाईल निर्माण तथा पर्यटन विकास योजना तयार गरिने रहेको छ । पर्यटकीय स्थल सम्म पुग्ने पहुँच मार्ग निर्माण गरी आन्तरिक पर्यटन प्रवर्धन गरिने निती तथा कार्यक्रम रहेको छ । भिमवली सामुदायिक वनदेखी पदमपुर सामुदायिक बन,थाङखोला सामुदायिक वन,उदयपुर सामुदायिक बन हुदै अमलाचुली सामुदायिक बन सम्म फायर लाईन बिस्तार गरिने जस्ता कार्यक्रम समेटिएका छन् ।

शिक्षाको क्षेत्रमा नगरपालिकाले सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिदैं शैक्षिक गुणस्तर सुधार गर्न सामुदायिक विद्यालयहरु र निजि विद्यालयहरु वीच अन्तरआवद्धता गरी शिक्षकहरुको तालिम तथा क्षमता विकासका कार्यक्रम संचालन गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नगरपालिकाले कक्षा ६ देखी १२ सम्मका छात्राहरुलाई सेनेटरी प्याड वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिने र विद्यालयमा विद्यार्थिको आकर्षण वढाउन दिवा खाजालाई पनि निरन्तरता दिइने नगर प्रमुख श्रेष्ठले वताए ।

आगामि आर्थिक वर्ष एक अर्व वढि बजेट ल्याउन लागेको नगरपालिकाले सहकारी क्षेत्र, राजश्व तथा वजार अनुगमन, स्वास्थ्यको क्षेत्र, खानेपानी तथा सरसफाई , गैरसरकारी संस्था परिचालन , पुर्वाधार निर्माण लगायतको विषयलाई पनि निति तथा कार्यक्रममा समावेश गरेको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । नगर सभामा बागमति प्रदेश सभाका सदस्य एवंम प्रदेश सभाका शिक्षा स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम भुषालको पनि उपस्थिति रहेको थियो ।