माडी स्थीत अयोध्यापुरी अन्वेषण गर्न १ करोड बजेट विनियोजन

June 15, 2021 12:34 pm

काठमाडौं ।
चितवनको माडी नगरपालिकामा अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले पुरातत्व विभागमार्फत खर्च गर्ने गरी सो रकम विनियोजन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिका रुपमा यो स्थान रहेको बताएपछि माडी चर्चामा आएको थियो । सोही अनुसार उनले त्यहाँ राम, सीता र लक्ष्मणका मूर्ति समेत स्थापना गराइसकेका छन् ।

तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालसहितको टोलीले गत रामनवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बनाउन लगाएका राम, सीता र लक्ष्मणका मूर्ति माडीमा पुर्याइ स्थापना गरेका थिए । आगामी आर्थिक वर्षको बजेट भाषणको क्रममा अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीका लागि रकम विनियोजन गरेको जानकारी गराएका थिए ।

माडीमा संघीय सरकारबाहेक स्थानीय तहबाट कार्यान्वयन हुने गरी थप बजेट समेत विनियोजन भएको छ । पर्यटन मन्त्रालयका अनुसार यहाँ पाँच पाण्डव कुण्ड संरक्षण गर्न ८ लाख रुपैयाँ स्थानीय तहबाट खर्च हुने गरी विनियोजन भएको छ । सोही नगरपालिकामा निर्माणाधीन शनि मन्दिरको निर्माण कार्य सम्पन्न गराउन र प्राकृतिक तालको संरक्षण गर्न समेत १० लाख रुपैयाँ विनियोजन भएको छ । यो स्थानीय तहमा हस्तान्तरण भएको योजना हो ।