
रत्ननगर,असार १ ।
चितवनको रत्ननगर नगरपालिकामा साढे १४ करोडको लगानीमा मातृशिशु अस्पतालको निर्माण प्रक्रिया सुरू भएको छ । बागमती प्रदेश सरकार र रत्ननगर नगरपालिकाको संयुक्त लगानीमा पूर्वी चितवनमै पहिलो मातृशिशु अस्पताल निर्माणको प्रक्रिया सुरू गरिएको हो । गर्भवती आमा र नवजात शिशुको सुरक्षाका लागि रत्ननगर नगरपालिकाको पहलमा अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
बकुलहर रत्ननगर अस्पतालको परिसरमा निर्माण हुने सो अस्पतालको भवन निर्माणका लागि ठेक्का प्रक्रिया सुरू भइसकेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले जानकारी दिए । सुरक्षित तरिकाले सुत्केरी गराएर आमा र बच्चाको सुरक्षाका लागि अत्याधुनिक उपकरणसहितको अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । साढे तीनतले भवनमा आइसियू, भेन्टिलेटर, जनरल वार्ड, अपरेसन कक्ष, ओपिडी कक्ष, सुत्केरी कक्ष रहनेछ । अस्पताल लिफ्टसहित अपाङ्गमैत्री पनि बन्ने इन्जिनियर गिरीले जानकारी दिए । सो अस्पताल ५० शøयाको क्षमताको हुने र एकैपटक ३० जना महिलालाई सुत्केरी गराउन सकिनेछ । अहिले रत्ननगर अस्पतालले दैनिक ३ जना महिलाहरुलाई सुत्केरी गराउन सक्ने क्षमता राख्दछ । सो अस्पताल सञ्चालनमा आएपछि दैनिक ३० जना महिलाहरुलाई सुरक्षित सुत्केरी गराउन सकिने मेयर नारायण वनले बताए ।
अस्पताललाई आवश्यक पर्ने स्वास्थ्य उपकरण विदेशबाट ल्याउने योजना रहेको छ । ‘अस्पतालमा प्रयोग हुने उपकरण अत्याधुनिक हुनेछन्’, मेयर वनले भने, ‘सम्भवतः स्विट्जरल्यान्डबाट उपकरण ल्याइनेछ ।’ अस्पतालमा आइसियू, भेन्टिलेटरसहित मेडिकल पाइपलाइन सिस्टम जडित हुने मेयर वनले जानकारी दिए । अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रिया सुरू भइसकेकाले अबको ४५ दिनमा निर्माण कार्य सुरू गरिँदैछ । दुई वर्षमा निर्माण कार्य सम्पन्न गर्ने योजनासहित भवन निर्माण सुरू हुने र लगत्तै अस्पताल सञ्चालनमा आउने उनले बताए । सो अस्पताल सञ्चालनमा आएपछि सुत्केरी गराउन र बच्चाको उपचारका लागि सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता हट्नेछ ।
पूर्वी चितवनका तीन लाख जनताले प्रत्यक्ष सेवा उपभोग गर्ने गरी रत्ननगर नगरपालिकाको पहलमा मातृशिशु अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । प्रदेश सरकारले बकुलहर रत्ननगर अस्पताललाई प्रदेशस्तरको मान्यता दिएर ५० शøयाको अस्पतालका रुपमा विकास गरेको छ । केन्द्र सरकारले प्रदान गरेको तीन करोड रूपैयाँबाट सो अस्पतालमा आइसियू र भेन्टिलेटर सञ्चालनका लागि काम भइरहेको छ । कोरोना सङ्क्रमितको उपचारसमेत सुरू गरिएको उक्त अस्पतालमा मिर्गौला रोगीको डायलाइसिस र छालाको प्रभावकारी उपचार हुँदै आएको छ । नेपाल सरकार, रत्ननगर नगरपालिका र शान्तिमेड नेपालको सहकार्यमा स्वास्थ्य सेवालाई उत्कृष्ट बनाउँदै नागरिकको मन जित्नेतर्फ अस्पताल केन्द्रित रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपालराज कर्माचार्यले बताए ।