
रत्ननगर,जेठ ३०
चितवन । रत्ननगर नगरपालिकालाई कोरोना संक्रमितको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । रत्ननगर नगरपालिकाको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा आइतवार हेफर इन्टरनेशन नेपालले पाँच लाख रुपैया सहयोग गरेकोे हो ।
महिला समुह समन्वय समिति,शान्तिकुञ्ज सामाजिक उद्यमी महिला सहकारी संस्था,आधारशिला सामाजिक उद्यमी महिला सहकारी संस्था र सर्वाङगिण सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत सो रकम नगरपालिकालाई हस्तान्तरण गरिएको हो । आइतवार आयोजित कार्यक्रममा शान्तिकुञ्जकी अध्यक्ष पार्वती न्यौपाने र हेफर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत ऋषिराम पौडेलले रत्ननगरका मेयर नारायण वन र उपमेयर विमला दुवाडीलाई पाँचलाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।
सो अबसरमा मेयर वनले रत्ननगर बकुलहर अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु भइसकेको र आइसियू र भेल्टिलेटर सञ्चालनको लागि अस्पतालमा काम सुरु भइसकेको बताए । उनले हेफरले प्रदान गरेको रकम उद्देश्य अनुसार नै कोरोनाका विरामीको उपचारका लागि आवश्यक पर्ने उपकरण खरिदमा खर्च गरिने बताए । उपमेयर दुवाडीले कोरोना नियन्त्रणको लागि हेफरले स्थानीय सरकारसंग गरेको सहकार्यलाई आफुले अर्थपूर्ण रुपमा लिएको बताइन ।
शान्तिकुञ्जकी अध्यक्ष न्यौपानेले हेफरले प्रदान गरेको पाँच लाख मध्ये बाट केही रकमले नगर भित्र रहेका स्वास्थ्य चौकीमा विरामीको उपचारका लागि आवश्यक पर्ने आवश्यक सामाग्री उपलब्ध गराइदिन आग्रह गरिन । न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा महिला समुह समन्वय समितिकी अध्यक्ष इन्द्रकुमारी आचार्य पौडेल,तीन वटै सहकारीका अध्यक्ष सहित पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।