
काठमाडौ
स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन्।
नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप लगाउन नपाएको उल्लेख गदै उनले पत्र पठाउन लागिएको बताएका छन्।
‘पहिलो मात्रा लगाएर यहाँका ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले खोप अभावको कारणले दोस्रो मात्राको खोप लगाउन पाएका छैनन् भनेर पत्रमा उल्लेख गर्ने छौं,’ उनले भने ‘ज्येष्ठ नागरिकको जीवनरक्षा गर्नका लागि समयमा नै दोस्रो मात्रा खोप लगाउन पर्ने भएकोले खोप उपलब्ध गराउन आग्रह गर्ने छौं।’
सरकारको आग्रहमा बेलायतले खोप चाँडै उपलब्ध गराउने विश्वास व्यक्त उनको छ।
खोपको पहिलो मात्रा लगाएका कम्तिमा १२ देखि १६ हप्ताभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ। सरकारले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकोले लगाउन केही फरक नपर्ने जनाएको छ।
गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ बर्ष माथिका उमेर समूहका करिव साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो।
दोस्रो मात्राका लागि खोप नआएपछि अहिले त्यस्ता व्यक्तिले दोस्रो मात्रा लगाउन पाएका छैनन्।