चितवन,जेठ २९
रत्ननगर नगरपालिकाले अनियमितता भएको भनिएको कोरोना खोपको विषयमा स्वास्थ्य शाखा प्रमुखसंग स्पष्टीकरण सोधेको छ । लक्षित उमेर समुह भन्दा बाहिरका व्यक्तिहरुले खोप लगाएको गुनासो आएपछि सो नगरपालिकाले शुक्रवार स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेललाई स्पष्टीकरण सोधेको हो ।
रत्ननगर बकुलहर अस्पतालको खोप केन्द्रबाट लक्षित उमेर समुह भन्दा बाहिरका व्यक्तिहरुले खोप लगाएको भन्दै विरोध भएको थिया । लक्षित उमेर समुह भन्दा बाहिरका व्यक्तिहरुले खोप लगाउनुको कारण खुलाई तत्काल स्पष्टीकरण पेश गर्न नगरपालिकाले निर्देशन दिएको र चित्तबुझ्नो जवाफ नआए कारबाही समेत हुन सक्ने मेयर नारायण वनले जानकारी दिए ।
जनप्रतिनिधिलाई नै झुक्याएर लक्षित समुह भन्दा बाहिरका व्यक्तिले खोप लगाएपछि नगरपालिकाले स्वास्थ्य शाखाका कर्मचारीसंग एक्सन लिएको हो । पछिल्लो पटक नेपाल सरकारले ६२ बर्ष देखि ६५ बर्ष उमेर समुहका व्यक्तिलाई मात्र कोरोना खोप लगाउने कार्ययोजना बनाएको थियो ।