लक्ष्मण सापकोटा/चितवन,जेठ २९
चितवनको इच्छाकामना गाउँपालिकाका ७ सय १० विपन्न चेपाङ परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ । सौराहामा रहेको सपना भिलेज सोसिएल इम्प्याक्टले शुक्रबार ७ सय १० विपन्न चेपाङ परिवारलाई १२ लाख रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग गरेको हो । चेपाङ समुदायको जिवनस्तर उकास्न काम गरिरहेको सोसिएल इम्प्याक्टले निषेधाज्ञाका कारण खाद्यान्न अभाव हुन थालेपछि गाँउमै पुगेर खाद्य सामग्री सहयोग गरेको हो ।
कोलभन्ज्याङ र कालिका डाँडा दुई ठाउँमा छुट्टा छुट्टै कार्यक्रम गरेर इम्प्याक्टले प्रति परिवार २० किलो चामल,२ केजी दाल, २ लिटर तेल र २ किलो नुन प्रदान गरेको इम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले जानकारी दिए । कार्यक्रममा गाउँपालिकाकी अध्यक्ष गिता कुमारी गुरुङ,वडाध्यक्ष नन्दुलाल गिरी र इम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले खाद्य सामग्री हस्तान्तरण गरेका थिए ।
खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाकी अध्यक्ष गुरुङले यहाँका जनतालाई जहिले पनि दु:ख परेको वेलामा सपना भिलेजले सहयोग गरेको वताउदै गाउँपालिकामा इम्प्याक्टले गरेको कामको प्रशंसा गर्दै धन्यवाद ब्यक्त गरिन ।
कार्यक्रममा इम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले चेपाङ समुदायको जिवनस्तर उकास्नका लागि फलफुलको बिरुवा,उन्नत जातका बोका,बाख्रा वितरण, बिद्यालय केन्द्रित कार्यक्रम, शौचालय निर्माण, सरसफाई केन्द्रित कार्यक्रम लगाएतका काम गरेको बताउदै छिट्टै मौरी वितरण गर्ने पनि जानकारी दिदै चेपाङ समुदायको आर्थिक तथा सामाजिक परिवर्तनको लागि आफुहरु निरन्तर लागिपर्ने वताए ।
विगत १ वर्षदेखि सुरु भएको ३ बर्षे परियोजना “सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ” मार्फत सपना भिलेजले जीवनस्तर र आयआर्जन सम्वन्धित कार्यक्रम संचालन गरिरहेको छ । सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाले यस अघि निषेधाज्ञाकै कारण समस्यामा परेका रत्ननगर नगरपालिका र इच्छाकामना गाउँपालिकाका गरिब तथा विपन्न समुदायलाई राहत प्रदान गरेको थियो । भने पत्रकारहरुलाई समेत यो पटक स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।
खाद्य सामग्री पाएपछि खुसी हुदै गाउँपालिकाका चेपाङ समुदायले सपना भिलेज गाउँमै आएर सामग्री वितरण गरेकोमा धन्यवाद दिदै आफ्नो लागि राज्य भनेको नै सपना भिलेज इम्प्याक्ट भएको बताए ।