वैद्यले प्रधानमन्त्रीविरुद्ध दिएको विवादास्पद अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागे

June 12, 2021 12:50 pm

काठमाण्डौ,जेठ २९
वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । वैद्यले शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शव्दहरु प्रस्तुत भएको भन्दै माफी मागेका हुन् । शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो । लिखित आत्मालोचना गर्दै वैद्यले आफूले अभिव्यक्ति स्वतन्त्रताको बढी नै उपभोग गरेको महशुस गरेको स्वीकार गर्दै आफ्नो भनाइ प्रदेश सभाको रेकर्डबाट हटाउन समेत आग्रह गरेका छन्। उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।