काठमाण्डौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले भेरोसेल खोप लगाउन छुटेका ६० देखि ६४ वर्षका नागरिकलाई अर्को चरणमा समेट्ने बताएको छ । चीनबाट अनुदानमा आएको १० लाख डोज भेरोसेल खोप ६० देखि ६४ वर्षका उमेर समूहका सबैलाई दिने भनिए पनि खोपको अभाव भएपछि त्यो सम्भव नहुने भएको छ ।
कतिपय ठाउँमा लक्षित समूहलाई पुग्ने गरी खोप पठाउन नसक्दा पनि तोकिएको उमेर समूहका नागरिक खोप लगाउनबाट छुटेका छन। स्वास्थ्य मन्त्रालयले चीनबाट आएको १० लाख डोज खोप ६० देखि ६४ वर्षका सबै नागरिकलाई नपुग्ने भएपछि अन्तिम समयमा उमेर समूह परिवर्तन गरेको थियो । काठमाण्डौ उपत्यकामा ६० देखि ६४ वर्ष र उपत्यकाबाहिरका लागि ६२ देखि ६४ वर्ष उमेर समूह तोकेको थियो ।
तर अभाव भएसँगै लक्षित यो समूहका केही नागरिकले अहिले खोप नपाउने निश्चित भएको छ । स्वास्थ्य मन्त्रालयले दोस्रो मात्रा दिन पुग्ने गरी खोपको सुनिश्चितता गरेर मात्रै पहिलो मात्रा देशका ७७ वटै जिल्लामा पठाएको थियो । यसले गर्दा पहिलो मात्राका लागि माग आए पनि खोप पठाउन सक्ने अवस्था नरहेको खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो ।
अहिले पहिलो मात्रा लगाएकाहरूले २८ दिनपछि दोस्रो मात्रा पाउने छन । अहिले छुटेका लक्षित समूहका नागरिकलाई खोप आएपछि समेटिने गौतमले बताउनुभयो । अहिले खोप लगाउन छुटेकाहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई पछि समेट्ने उहाँले बताउनुभयो ।
सरकारले खोप खरिदका लागि अमेरिका, रुस, बेलायत लगायत विभिन्न देशसँग पहल गरे पनि खोप आउनेबारे अझै टुङ्गो लागेको छैन ।