काठमाण्डौ,जेठ २६
नेकपा एमालेका नेता योगेश भट्टराईले ओली, नेपाल र खनालका कारण एमाले एकता हुन नसकेको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत भट्टराईले जनता समाजवादी पार्टी जसपा को महन्थ ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने अध्यक्ष ओली आफ्नै पार्टीका नेतासँग मिल्न नसक्नु नै बिडम्बना रहेको उहाँको भनाइ छ ।
यस्तै उहाँले आफ्नै पार्टी अध्यक्ष ओलीसँग मिल्न तयार नहुने तर विपक्षी गठबन्धन बनाएर अघि बढेको भन्दै माधव नेपाल र झलनाथ खनालप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभएको छ । शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादवसँग सत्ता साझेदारी र अरु विषयमा गठबन्धन गर्न तयार हुने खनाल–नेपाल समूहले अध्यक्ष ओलीसँग मिल्न तयार नहुनु पनि समस्याको जड रहेको उनले बताए ।
पछिल्ला यस्ता गतिविधिहरु कस्ले, किन र केका लागि गर्दैछ भन्ने प्रश्न गर्दै यी समस्या यथावत रहेसम्म एमाले एकताको सम्भावना कम रहेको भट्टराईले बताए । यसबारे पार्टीका शीर्ष नेताहरुबीच गम्भीर छलफल गरेर साझा निष्कर्ष निकाल्न साझा अभियानमार्फत एमालेलाई बचाउनुपर्ने उनको भनाइ छ ।