रूपन्देहीमा बन्दै अत्याधुनिक बस टर्मिनल ,संघीय सरकार र प्रदेश सरकारको गरी अर्ब बढी लगानी

June 8, 2021 2:52 pm

रूपन्देही
रूपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रादेशिक बस टर्मिनल निर्माण हुने भएको छ। संघीय सरकार र प्रदेश सरकारको सह(लगानीमा निर्माण गर्ने भनिएको प्रादेशिक बस टर्मिनलको लागि संघीय सरकारले बजेट सुनिश्चित गरेपछि निर्माण हुने पक्का भएको हो।
नगरपालिकाकाको वडा नं। १३ र १४ टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारले १ करोड ६६ लाख बजेट छुट्टाएको छ।

अत्याधुनिक सुविधासहितको बन्ने बस टर्मिनलका लागि आन्तरिक स्रोतले मात्रै नपुग्ने भएकाले संघीय र प्रदेश सरकारको सह(लगानीमा निर्माण प्रस्ताव गरिएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए।

प्रदेशस्तरीय बसपार्कको लागि नगरपालिकाले प्रस्ताव गरेअनुरूप संघीय सरकारले ७० प्रतिशत र लुम्बिनी प्रदेश सरकारले ३० प्रतिशत लगानी साझेदारी रहनेछ।

हाल बुटवल र भैरहवामा सञ्चालन भईरहेका बसपार्कले सवारीसाधनको चाप थेग्न नसकिरहेको अवस्थामा प्रादेशिक बस टर्मिनलको निर्माण प्रस्ताव गरिएको नगरप्रमुख घिमिरेले बताए। ‘बस टर्मिनल निर्माण सम्पन्न गर्न १ अर्बभन्दा धेरै लाग्ने भए पनि बहुवर्षे कार्यक्रम अन्तर्गत हरेकवर्ष संघ र प्रदेश सरकारले बजेट छुट्टाउने भएकोले बस टर्मिनलको लागि रकम अभाव हुने छैन उनले भने।
अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भ्रमणमा आउने यात्रुलाई लक्षित गरि बस टर्मिनलको अवधारणा अगाडि सारिएको उनले बताए। यसअघि नगरपालिकाले चालु आर्थिक वर्षमा नै एक करोड रुपैयाँ विनियोजन गरि जग्गा तारबारको काम शुरु गरिसकेको छ ।
त्यस्तै किनमेल सुविधाका लागि एक हजार वर्गमिटर क्षेत्रफलमा विभित्र थरिका ३० वटा पसल समेत बस टर्मिनलभित्रै निर्माण हुनेछन्।