काठमाण्डौ –
प्रतिनिधि सभा विघटनसम्बन्धी परेका रिट निवेदनहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास आजका लागि स्थगित भएको छ ।
इजलासमा रहेका व्यक्ति नै अस्वस्थ रहेको सूचना प्राप्त भएकाले आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।
संसद विघटनसम्बन्धी मुद्दा हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गर्नुभएको छ ।
आजका लागि हेर्दाहेर्दैमा राखिएका निवेदन स्थगित पेसी सूचीमा चढाइएको छ । हिजोको बहसपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । संवैधानिक इजलासको हिजोको सुनुवाइमा इजलासमा रहेका न्यायाधीश रहन हुने कि नहुने भन्ने विषयमा बहस केन्द्रीत थियो ।
महान्यायाधीवक्ता रमेश बडालसहित सरकारी पक्षका वकिलहरुले इजलासबाट कार्की र भट्टराईलाई हटाउन माग गर्नुभएको थियो । कार्की र भट्टराई रहेको इजलासबाट निष्पक्ष फैसला नआउने सरकारी पक्षको भनाइ छ ।
इजलासमा रहेका व्यक्तिबारे विवाद उत्पन्न भएसँगै यस विषयमा टुङ्गो नलागी विषय केन्द्रीत बहस अघि नबढ्ने भन्दै प्रधानन्यायाधीश जबराले आजका लागि इजलास नै रोकिएको हो ।