कर्णाली ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताएका छन ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा शनिबार आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पुर्याउन शिक्षकलाई आग्रह गरे ।
प्रचण्डले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनर्गठन गरेको बताए ।
कार्यक्रममा सातै प्रदेशका अध्यक्षले सङ्गठनको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो भर्चुअल ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’मा करीब एक हजार शिक्षकको सहभागिता रहेको सङ्गठनका केन्द्रीय महासचिव निमबहादुर केसीले जानकारी दिए ।