कालो ढुसी संक्रमणका कारण कैलालीमा एकजनाको ज्यान गयो

June 3, 2021 1:31 pm

धनगढी
सेती प्रादेशिक अस्पतालमा कालो ढुसी म्यूकर माइकोसिसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
कैलालीको बर्दगोरिया–६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको हो

मिर्गौलासम्बन्धी रोगबाट ग्रसित उनी जेठ १७ गते अस्पताल भर्ना भएकोमा बुधबार मात्रै उनीमा कालो ढुसीको संक्रमण पुष्टि भएको उपचारमा संलग्न डा शेरबहादुर कमरले जानकारी दिए ।

‘उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए । स्वास्थ्यमा समस्या आएपछि उनी डायलायसिसका लागि अस्पताल आएका थिए,’ डा। कमरले भने, ‘आईसीयूमा राखेर उनको उपचार थालिएको थियो । तर उपचारकै क्रममा बिहीबार बिहान ७ बजे उनको मृत्यु भयो ।’

कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई एम्फोटेरिसेन बी नामको औषधि दिइएको थियो । तर पनि उनलाई बचाउन नसकिएको डा श्रीपाइलीले बताए ।

कालो ढुसी धेरैजसो रोग प्रतिरोधी क्षमता कमजोर भएको मानिसमा देखिने हुदा यो रोगको संक्रमण बढीजसो आँखा, फोक्सो, किड्नी तथा छालामा यसको संक्रमण देखिएको उनले जनाए ।