प्रेस चौतारी चितवनले कोभिडको असरमा परेका पत्रकारलाई सहयोग गर्ने

June 3, 2021 10:06 am

जेठ २०, चितवन
पेशागत पत्रकारहरूको सबैभन्दा ठूलो संगठन प्रेस चौतारी चितवन,जिल्ला शाखा चितवनको विस्तारीत बैठकले कोरोनाका कारण प्रभावित जिल्लाका पत्रकारहरूलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । जुमबाट वुधबार गरिएको बैंठकमा कोरोनाको दोस्रो लहर सुरु भएपछि गरिएको लकडाउन, श्रमजीवि पत्रकारहरुको अहिलेको अवस्था, प्रेस चौतारी चितवनले पत्रकारको स्वास्थ्य सुरक्षामा ध्यान दिएर सबै पत्रकारहरुमा गरिएको स्वास्थ्य सामाग्री वितरण, संगठनका आगामी कार्ययोजना एवम् कार्यभारका विषयमा छलफल गरिएको थियो । बैठकले समाचार संकलनका क्रममा अग्रभागमा खटिदा कोरोना संक्रमण भएका पत्रकारहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । चौतारी चितवनले कोरोना संक्रमण नहोस् भनेर संगठनमा आवद्ध रहेका,नरहेका जिल्लामा क्रियाशील सबै पत्रकारहरूलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ ।

बैठकले महामारीको बेलामा पत्रकारहरुको सुरक्षालाई प्राथमिकतामा राखेर संगठनलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउने विभिन्न संघसंस्थाहरूलाई धन्यवादसमेत ज्ञापन गरेको छ । प्रेस चौतारी नेपालले उठाउँदै आएको पत्रकारहरूको निशुल्क उपचार र दुर्घटना बीमा गराउने सम्बन्धी मागलाई हालै सरकारले बजेटमार्फत सम्वोधन गरेकोमा सरकारलाई धन्यवाद दिँदै साउन १ गतेबाट नै कार्यान्वयनमा लैजान माग गरेको छ । त्यसका लागि आवश्यक सहयोग गर्न पत्रकार महासंघलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ । बैठकले कोरोना कहरका बेलामा श्रमजीवि पत्रकारहरुलाई कामबाट निकाल्ने, तलव नदिने जस्ता काम र गतिविधीमा नगर्न नगराउन सम्वद्ध सबै सञ्चारमाध्यमहरूलाई अपिल गरेको छ । बैठकमा सहभागी हुनुभएका प्रेस चौतारी नेपालका कार्यबहाक महासचिव हिरा लामाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सचेततापूर्वक समाचार संकलन गर्न आग्रह गर्नुभयो । उहाँले महामारीका बेलामा समस्यामा परेका पत्रकारहरूको आड र भरोसा प्रेस चौतारी बन्ने हुँदा निधक्कसँग चौतारीसमक्ष आफ्ना समस्याहरू राख्न क्रियाशील सबै पत्रकारहरूलाई अनुरोध गर्नुभएको छ ।

बैठकमा प्रेस चौतारी प्रदेश कमिटी सदस्य तिलक रिमाल, शंकर अधिकारी, द्धारिका नेपाल, प्रतिमा सिलवाल, रामकान्त पौडेल लक्ष्मण गौत्तम, मनोज घिमिरे, केन्द्रीय कमिटी सदस्य शालिग्राम नेपाल, अनुशासन आयोग सदस्य संगीता आचार्य पत्रकार महांसंघका निवर्तमान अध्यक्ष राधेश्याम खतिवडा, पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी, चौतारी चितवन संस्थापक अध्यक्ष रामबाबु सुवेदी, प्रेस चौतारी चितवनका निवर्तमान अध्यक्ष तीर्थ नेपाल, सल्लाहाकार एवम् कार्य समिति सदस्यहरूले आआफ्ना धारणा र सुझावहरु राख्नुभएको थियो । चौतारी चितवनका सहअध्यक्ष कृष्ण आचार्यले संगठनले अहिलेसम्म गरेका गतिविधीको बैठकमा जानकारी गराउनुभएको थियो भने, बैठक अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको थियो ।