मामा भान्जाको नमूना कुखुरापालन

June 2, 2021 11:48 am

लक्ष्मण सापकोटा/जेठ १९,रत्ननगर

जेठ महिनाको गर्मिमा तारजालीले वारेको कम्पाउन्ड भित्रबाट निकै परसम्म पनि सुन्न सकिने आवाज आइरहेको छ । त्यही कम्पाउन्ड भित्रको मैदानमा रत्ननगरका मामा भान्जा वोरामा दाना लिएर कुखुरालाई खुवाउदै गर्दा त्यहाँ आइरहेको आवाज बाट वेखबर थिए । कुखुरालाई दाना दिदैं गर्दा एकैठाउँमा जम्मा भएको कुखुराहरुको दृश्य हेर्दा मनमोहक देखीन्थ्यो ।

सामान्यतया कुखुरापालन भन्ने वित्तीकै खोर वनाएर खोर भित्र कुखुरालाई राखेर कुखुरापालन गरिन्छ भन्ने जो कोहीले पनि सोच्ने गर्दछ । तर रत्ननगरका नगेन्द्रराज पाण्डे र विष्णुबाबु जोशीले गरेको कुखुरापालन फरक छ । जोशी र पाण्डे नाताले मामा भान्जा हुन् । सात महिना अघि एक विघाहा जग्गा भाडामा लिएर कम्पाउन्डीङ गरेर उनिहरुले कुखुरालाई खुल्ला मैदानमा राखेर पालिरहेका छन् । प्राकृतिक वातावरणमा कुखुराहरु रमाउने र कुखुराहरुमा रोग लाग्ने दर पनि कम हुने भएकोले खुल्ला मैदानमा कुखुरापानल गरेको जोशीको भनाई छ ।

पाण्डे र जोशी पेसाले शिक्षक हुन् । उनिहरु दुवैजनाले चितवनको विभिन्न कलेजमा पढाउछन् । शिक्षण पेशामा निश्चीत तलबमात्र हुने भएको र आर्थिक उन्नतिमा खासै सुधार नभएकोले कुखुरापालन सुरु गरेको पाण्डेले वताए । कुखुरापालन सुरु गरे पनि शिक्षण पेसा गरिरहेका उनिहरुले विहान कलेज पढाउने र त्यो वाहेकको समय कुखुरापालनमा दिइरहेका छन् । कुखुरा फार्मभित्र प्रवेश गरेर कुखुरा संगै रमाउन पाउँदा छुट्टै अनुभुति हुने पाण्डेले वताए । घाम पानीमा अनि रातमा कुखुरालाई यसरी मैदानमा छोड्दा समस्या हुदैन भन्ने हाम्रो प्रश्नमा पाण्डेले सामान्य तरिकाले वारेको ४ ओटा खोर देखाउदै कुखुरालाई ओत लाग्नको लागी ४ वटा खोर वनाएको जानकारी दिए ।

रत्ननगर ११ मा २० लाखको लगानिमा नमस्ते एकिकृत कृषि फार्मको नामले संचालित कुखुरा फार्ममा अहिले लोकल र कडकनाथ प्रजातिका कुखुरा रहेका छन् । लोकलमा साकिनी,घाँटीखुइले,उल्टे,लोकल मिक्स प्रजातिका कखुराहरु ब्यवसायिक रुपमा पालिएका छन् । शुरुवातमा ५०० लोकल र ५०० कडकनाथका चल्ला हालेका उनिहरुले त्यो वेचेर आम्दानी गरिसकेका छन् । पहिलो चरणमा कुखुरा र अण्डा वेचेर उनिहरुले तिन लाख रुपैयाँ आम्दानी गरे । वेचेका कुखुरा सवै भाले भएको भन्दै प्रजननका लागि पोथी कुखुरा फार्ममै राखेको पाण्डेले वताए । लोकल र कडकनाथ जातका कुखुरा ५ महिनामा खान योग्य हुन्छ । पाँच महिनामा एउटा कुखुरा भाले २ किलो र पोथी डेढ किलो हुन्छ । लोकल भाले प्रतिकिलो ७००,पोथी ६००,कडकनाथ प्रतिगोटा २ हजार ५ सय रुपैयाँ वजार भाउ रहेको छ ।

कुखुरा विक्री कसरी हुने गर्छ भन्ने प्रश्नमा अधिकांश ग्राहकहरुले फोन मार्फत नै माग गर्ने र कुखुरा फार्ममै आएर खरिद गर्ने गरेको जोशीले वताए । तत्काल धेरै आम्दानीमा ध्यान केन्द्रित नगरेका उनिहरुले अझै पनि लगानी वढाउदै लगिरेहेको र आगामी दिनमा कुखुरासंगै फार्ममा बाख्रापालन,चरा प्रजातिका कालिज र लौकट ब्यावसायिक रुपमा पाल्ने योजना रहेको पाण्डेले वताए । दिर्घकालीन योजनाका साथ सुरु गरेको कुखुरापालन बाट दुई वर्षसम्म लगानिलाई निरन्तरता दिने र तेस्रो वर्षबाट प्रतिफल लिन थाल्ने मामा भान्जाको योजना छ ।

स्थानिय बुद्धिबहादुर दुलालको एक विघाहा जग्गा १० वर्षको लागी भाडामा लिएर गरेको मामा भान्जाको कुखुरापालन देखेर त्यहा पुग्ने साथीभाई आफन्त र ग्राहकहरु दङ्ग पर्दै सकारात्मक प्रतिकृया दिने गरेको उनिहरुको भनाई छ । परम्परागत रुपमा होईन प्राकृतिक बातावरणमा पनि आधुनिक तरिकाले कुखुरापालन गर्न सकिन्छ भन्ने उदाहरण रत्ननगरमा मामा भान्जा पाण्डे र जोशीले गरेको कुखुरापालनले प्रस्तुत गरेको छ ।