एमालेमा पुन: ओली र नेपाल समूहको वार्ता प्रयास

June 1, 2021 11:58 am

काठमाडौं ।
सत्तारुढ नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध माधवकुमार नेपाल समूहका सांसदहरु पनि सर्वोच्च अदालत गएपछि कार्यदल स्तरको वार्ता समेत अवरुद्ध भएको थियो ।

लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु मात्र भएको स्थायी कमिटीको बैठकले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीबाट निस्कासन गरेको छ भने थप १२ जनालाई स्पष्टीकरण सोधिएको छ । तर उनीहरुले स्पष्टीकरण दिएका छैनन ।

सोमबार साँझ अध्यक्ष ओली र नेता नेपाल समूहका नेताहरुबीच वार्ता भएको छ । दुबै पक्षका दोस्रो तहका नेताहरुबीच भएको कुराकानी पुनः एकता वार्ता सुरु गर्ने प्रयास भएको बताइएको छ ।

उनका अनुसार पार्टीलाई फुटबाट जोगाउनुपर्छ भन्नेमा छलफलमा सहभागी नेताहरु सहमत देखिएका छन् ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र नेता नेपालबीच ३० वैशाखमा भेटवार्ता भएपछि विभाजन उन्मुख रहेको एमालेका एकता प्रयास सुरु भएको थियो ।

२ जेठ २०७५ मा फर्किनुपर्ने नेपाल समूहको मागमा अध्यक्ष ओली सहमत भएपछि दुवै पक्षका ५–५ जना रहेको कार्यदल समेत बनाएको थियो । तर प्रतिनिधिसभा भंग गर्ने प्रक्रिया सुरु भएसँगै एकता वार्ता विथोलिएको थियो ।