श्रद्धा तिमल्सिना/जेठ १८,चितवन
२१ औं अन्तराष्ट्रिय तथा ११ औं राष्ट्रिय दुध दिवस पूर्वी चितवनमा दुध वितरण गरेर मनाईएको छ। रत्ननगर नगरपालिकाको विशेष आर्थिक सहयोगमा दुध वितरण गरिएको नगर स्तरिय दुग्ध उत्पादक सहकारी संस्था रत्ननगरका अध्यक्ष किसोर बगालेले जानकारी दिनुभयो । रत्ननगरमा रहेका राममन्दिर जयमंगला, हरिहर मन्दिर, कृष्ण मन्दिर टिकौली र गामबेसिको चेपाङ संरक्षण केन्द्रलाई माग अनुसार १० देखि ३० लिटर सम्म दुध वितरण गरिएको उपाध्यक्ष मणिप्रकाश खतिवडाले वताउनुभयो ।
रत्ननगर नगरपालिका पशुपन्छी शाखाको वार्षिक कार्यक्रम अनुसार नगर स्तरिय दुग्ध उत्पादक सहकारी संस्था रत्ननगर संग सहकार्य गरी दुध वितरण गरिएको रत्ननगर नगरपालिका पशुपन्छी शाखा प्रमुख पशु विकाश अधिकृत शालिग्राम पौडेलले जानकारी दिनुभयो ।
“नियमित दुध तथा दुग्धजन्य पदार्थ उपभोग गरौँ , रोग प्रतिरोधात्मक क्षमता बढाऔं” भन्ने मूल नारा सहित आज राष्ट्रिय दुग्ध विकास बोर्ड तथा सरकारी , गैरसरकारी निकायबाट नेपालमा विविध कार्यक्रम गरेर मनाइदैछ ।
विश्व खाद्य संगठनले सन् २००१ देखि अन्तर्राष्ट्रिय दूध दिवस मनाउने निर्णय गरेकोमा नेपालले सन् २०११ बाट दिवस मनाउन थालेको हो । नेपाली समाजमा प्रतिव्यक्ति प्रतिवर्ष ६४ लिटर दुध उपभोग गरेको पाइन्छ । तर विश्व स्वास्थ्य संगठनका अनुसार मानव स्वास्थ्यका लागि प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर दुधको आवश्यकता पर्छ ।