जन्मदिनको अवसरमा फोरुवा वितरण

May 31, 2021 3:51 pm

माडी १७ जेठ ।
गैर आवासीय नेपाली संघ(NRNA) जापानका केन्द्रीय सदस्य बाबुराम खरेलको जन्मदिनको अवसरमा सुकुम्बासी चेपाङ परिवारलाई कृषि कामको लागि सोमबार फोरुवा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ४ स्थायी घर भई हाल जापानमा व्यवसाय गरिरहनुभएका समाजसेवी खरेलको जन्मदिनको अवसरमा माडी नगरपालिका वडा नं ७ को देबेन्द्रपुर परुई नदी किनारका सुकुम्बासी चेपाङ परिवारलाई फरुवा वितरण गरिएको हो ।

राष्ट्रिय युवा संघ माडीद्वारा सहजीकरण गरिएको कार्यक्रममा सुकुम्बासी चेपाङ परिवारलाई फरुवा वितरण गर्दै माडी नगरपालिका वडा नं ७ का वडा सदस्य जगन्नाथ लामिछानेले सुकुम्बासीको स्थायी बसोबासको लागि माडी नगरपालिकाले पहल गरिरहेको जनाउदै विपत्तिको समयमा परिश्रम गर्दै जीविकोपार्जनको लागि अगाडि बढ्न आग्रह गर्नुभयो । फरुवा वितरण कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एमालेका युवा नेता श्रीप्रसाद दवाडी, नेकपा एमाले माडीका युवा ईञ्चार्ज सुर्यकान्त खनाल, राष्ट्रिय युवा संघ माडीका संयोजक मुन्ना मियाले आगामी दिनमा पनि विपन्न सुकुम्बासी परिवारको आय आर्जनमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा चेपाङ अगुवा छवि चेपाङले विपत्तिको बेलामा सुकुम्बासी चेपाङ परिवारलाई फरुवा दिएर सहयोग गर्ने सहयोगी बाबुराम खरेल र समन्वय गर्दै वितरण गर्ने महानुभावहरुप्रति सुकुम्बासी चेपाङ परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन उत्तरोत्तर प्रगतीको कामना गर्नुभयो । समाजसेवी बाबुराम खरेलको यसअघि पनि सुकुम्बासी चेपाङ परिवारलाई खाद्यान्न, बालबालिकाको लागि स्टेशनरी, विद्यालय पोसाक लगाएका सामग्रहरु वितरण गर्नुभएको थियो ।
खेती लगाउने समयमा फरुवा पाएपछि चेपाङ परिवारहरु खुशी भएका थिए । फरुवा वितरणको समन्वय र सहजीकरण सञ्चारकर्मी नारायण सापकोटाले गर्नुभएको थियो ।