काम गरेका छौ अभिलेख राख्न नसक्नु कमजोरी भयो : मेयर श्रेष्ठ

May 31, 2021 3:16 pm

लक्ष्मण सापकोटा/चितवन,जेठ १७

चितवनको कालिका नगरपालिका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्वमुल्याङ्कनमा अंक कम आएपछि नगरपालिकाले काम गरेर कामको अभिलेख राख्न नसक्नु कमजोरी भएको वताएको छ । चितवन जिल्लाका पालिकाहरुमा सबैभन्दा कमजोर भएको भनेर संचार माध्यममा समाचार आएपछि नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले दुख ब्यक्त गर्दै काम धेरै गरेपनि कामको अभिलेखीकरण नहुँदा नगरपालिका पछि परेको दाबी गरे ।

मेयर श्रेष्ठले स्वमुल्याङ्कनमा अंक कम आएपछि आन्तरिक समिक्षा गरेको वताउदै आगामी आर्थिक वर्षमा गल्ती कमी कमजोरी सुधार गर्ने वताए । अभिलेखीकरणमा कमजोरी भएपनि विकास निर्माणको धेरै काम भएको श्रेष्ठले जिकिर गरे । विकास निर्माण पछि नगरपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,पशुपालनको क्षेत्रमा पनि स्रोत साधन र क्षमताले भ्याएसम्मको काम गरेको जानकारी दिए । स्वमुल्याङ्कनमा धेरै बुदामा कम नम्वर आउनुमा नगरपालिकाको आफ्नै भवन नहुनु पनि एक कारण रहेको वताउदै श्रेष्ठले सवै वडामा स्वास्थ्य केन्द्र स्थापना भएको वताउदै वडा नम्वर ८ वाहेक सवै वडा कार्यालयको भवन यसै वर्षदेखी आफ्नै हुने जानकारी दिए ।

प्रदेशको सवै स्थानिय तहको मुल्याङ्कन नहुदै कालिका नगरपालिका प्रदेशमा कमजोर भनेर संचार माध्यममा समाचार आएकोमा नगरपालिकाले दुःख ब्यक्त गरेको हो । अवको दिनमा काम संगै अभिलेखीकरणमा ध्यान दिने वताउदै मेयर श्रेष्ठले निरन्तर नगरवासीको सेवामा लाग्ने वताए । मन्त्रालयले पहिलोपटक स्थानीय तहले स्वमूल्यांकन गर्ने कार्यक्रम ल्याएको हो । एक हजार ११ सूचकलाई १०० पूर्णाङ्क मानी प्रतिशतका आधारमा निकालिएको स्वमूल्याङ्कन नतिजामा कालिका नगरपालिकाले ४३.५ प्रतिशतमात्र अंक प्राप्त गरेको थियो ।