बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न अर्थ मन्त्री पौडेलको आग्रह

May 30, 2021 5:35 pm

काठमाण्डौ,जेठ १६
अर्थ मन्त्री विष्णु पौडेलले बजेट कार्यान्वयन हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ । आइतवार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा अर्थ मन्त्री पौडेलले बजेट कार्यान्वयन गर्ने योजना, प्रतिबद्धता र सङ्कल्पका साथ बजेट आएको स्पष्ट पार्नुभएको हो ।

यो बजेट केबल सुनाउनका लागि होइन कार्यान्वयन गर्नका लागि, बजेटमा उल्लेख गरिएका लक्ष्य हासिल गर्नका लागि ल्याइएको हो भन्ने म विश्वास दिलाउन चाहन्छु । कोभिड–१९ महामारी नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्थ्यो र त्यसैअनुसार बजेट केन्द्रित गरिएको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रस्तुत गरिएका योजना र कार्यक्रम कार्यान्वयन गर्छौँ ।

उहाँले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढङ्गले चुनाव सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने बताउनुभयो । चुनावलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्न सम्पूर्ण सामर्थ्य परिचालन गरिने छ । चुनावका लागि यथेष्ट महत्त्व दिएर आवश्यक बजेट विनियोजन गरिएको छ ।