चितवन,जेठ १६
खैरहनी नगरपालिकाका प्रमुख पाँच राजनीतिक दलले प्रतिनिधि सभा विघटन असंवैधानिक कदम भएको भन्दै विरोध गरेका छन् । शनिवार काँग्रेस खैरहनी नगर सभापति शशीकुमार खनिया , नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष लक्ष्मी ढकाल , नेकपा एमाले नगर अध्यक्ष प्रकाश रुपाखेती , जनता समाजवादी पार्टीका पार्टी प्रतिनिधी बिनोद खतिवडा र राष्ट्रिय जनमोर्चाका पार्टी प्रतिनिधी धनवहादुर थापाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतोमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत समेत नलिई नयाँ सरकार गठनका लागि राष्ट्रपतिद्धारा आह्वान गर्दा १४९ सांसदको हस्ताक्षर संकलन गरि पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापतिको शेरवहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि दाबी प्रस्तुत गर्दा समेत कामचलाउ प्रधानमन्त्रीले जननिर्वाचित संसद विघटन गरेर संविधानमाथि नै गम्भीर प्रहार गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच उनीहरुले विज्ञप्तिमा कोरोना भाइरस नियन्त्रणका लागि अक्सिजन, खोप तथा स्वास्थ्य सामाग्रीको व्यवस्थापन जोड दिन पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।