काठमाण्डौ –
नेपाली कांग्रेसले कोभिड–१९ सङ्क्रमणको आडमा सरकारले आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि नागरिकमा आतङ्क फैलाउने काम गरेको आरोप लगाएको छ ।
बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्डमा बसेको पदाधिकारी बैठकले कोभिड–१९ सङ्क्रमणको रोकथाम गर्न भन्दा पनि महामारीको आडमा सरकारले राजनीति गर्न खोजेको निष्कर्ष निकालेको हो । आफ्ना असंवैधानिक कदमलाई वैधानिकता दिन र राजनीतिक अभिष्ट पूरा गर्नका लागि सरकारले कोभिड सङ्क्रमणको नाममा नागरिकमा आतङ्क फैलाउन खोजेको ठहर बैठकले गरेको छ ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सह–महामन्त्री प्रकाशशरण महतले कोभिडका नाममा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिसमा सरकार अघि बढेको बताउनुभयो । उहाँले कोभिड सङ्क्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि सङ्क्रमणको आडमा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने सरकारका क्रियाकलापको बैठकले घोर भर्त्सना गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार कोभिड सङ्क्रमणलाई रोकथाम गर्न भन्दा पनि यसका आडमा राजनीति गर्न खोज्दै छ । नागरिकमा आतङ्क फैलाउन खोज्दै छ । दुई दिनभित्र किनमेल गर भन्ने किसिमका कुराहरू गर्दैछ । सरकारको आशय अहिले पनि अक्सिजन, अस्पताल बेडको सुनिश्चिततासँगै दुर्गम गाउँ–गाउँमा पीसीआर परीक्षण गर्ने, सङ्क्रमितको उपचार सुनिश्चित गर्नु भन्दा पनि सङ्क्रमणको आडमा नागरिकमा आतङ्क फैलाउने र राजनीतिक स्वार्थ सिद्धि गर्ने कोसिस सरकारबाट भइरहेको छ । यसको घोर भर्त्सना गरेका छौँ ।
महामारीमा नागरिकको दैनिकी असहज भइरहेका बेला सहयोगी भूमिका निर्वाह गर्नु भन्दा सरकार जनअधिकारलाई निषेध गर्ने र अवैधानिक बाटोलाई वैध बनाउने बाटोमा लागेको भन्दै बैठकले त्यस कार्यको निन्दा एवम् भर्त्सना गरेको नेता महतले जानकारी दिनुभयो ।
कांग्रेसले उपचार नपाएर र अक्सिजन नपाएर कोभिड सङ्क्रमितहरूको ज्यान गइरहेका तथा दुर्गम क्षेत्रमा कोरोना परीक्षण हुन नसकिरहेका बेला उपचार, रोकथाम र राहततर्फ केन्द्रित हुनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । तत्काल सडकमा उत्रिने अवस्था नरहेकाले सञ्चार, सामाजिक सञ्जाल, नागरिक समाज लगायत मार्फत निरन्तर रूपमा राष्ट्रपति र सरकारको असंवैधानिक कदमविरुद्ध लाग्नुका साथै कानुनी र राजनीतिक लडाइँलाई निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।
केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा गर्नुपर्ने काम र सर्वसाधरणको दैनिकीलाई सहज बनाउनका लागि राहत लगायतको व्यवस्था गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापन पत्र बुझाउनुभएको थियो ।