रत्ननगर खानेपानीद्धारा प्रहरीलाई पीपीई र पन्जा सहयोग

May 24, 2021 8:49 pm

रत्ननगर । कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा खटिएका प्रहरीहरुलाई सोमबार पीपीई र पन्जा सहयोग गरिएको छ । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले इलाका प्रहरी कार्यालय रत्ननगरलाई सो सहयोग गरेको हो । सोमवार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीष्मराज पौडेलले इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख डिएसपी इन्द्रबहादुर रानालाई १० वटा पीपीई र ८० जोर पन्जा हस्तान्तरण गरेका हुन ।

सो अबसरमा संस्थाका अध्यक्ष पौडेलले कोरोना महामारीलाई जित्न चौतर्फी सहकार्य आवश्यक रहेको भन्दै महामारी नियन्त्रणको लागि अग्रपंक्तिमा खटिने प्रहरीको सुरक्षाको लागि स्वास्थ्य सामाग्री प्रदान गरेको बताए । उनले केही दिन अघि रत्ननगर अस्पतालाई अक्सिजन सहितको सिलिण्डर र उपभोक्तालाई एक महिनाको न्यूनतम महसुल छुट गरिएको बताए । कोरोनाको पहिलो लहरमा पनि संस्थाले रत्ननगर नगरपालिकाको कोरोना नियन्त्रण कोषमा१ लाख ११ हजार १११ रुपैया सहयोग तथा उपभोक्तालाई एक महिनाको न्यूनतम महसुलमा छुट दिएको थियो ।

संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा उपाध्यक्ष रामहरी अधिकारीले स्वागत मन्तव्य तथा सचिव कृष्णप्रसाद नेपालले कार्यक्रम सञ्चालन गरेका थिए । कोषाध्यक्ष विष्णु पौडेलले धन्यवाद मन्तव्य राखेका कार्यक्रममा कार्यसमितिका सदस्यहरु भरतवाबु भट्टराई,विनिता पौडेल,निर्मला दंगाल,सविता पौडेल,व्यवस्थापक विश्व पौडेल लगायतको सहभागिता रहेको थियो ।