दाउन्नेमा भएको बस दुर्घटनामा चार जनाको ज्यान गयो

May 19, 2021 11:57 am

नवलपरासी
नवलपरासी पश्चिममा भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । काठमाण्डौबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।

बस खसेको थाहा पाएलगत्तै प्रहरी पुगेको र घटनास्थलमा चार जनाको शव भेटिएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिनुभयो । ज्यान जानेमध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाकी कल्पना पुनको मात्रै परिचय खुलेको उहाँले बताउनुभयो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र कतिजना घाइते भएका छन् भन्ने विवरण संकलन भइरहेको छ ।

दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्‍याएको छ । निषेधाज्ञामा पनि बसले कसरी मान्छे बोकेर हिँड्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।