प्रधानमन्त्रीको ‘त्यो पर्दैन’ शपथ बदर माग गरिएको रिटमाथि सुनुवाइ हुने

May 17, 2021 1:52 pm

काठमाण्डौ –
प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गरेर दोस्रो पटक शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि भोलि मङ्गलवार सुनुवाइ हुने भएको छ ।
ठूलो दलको हैसियतमा यही वैशाख ३१ गते शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले भनेको शब्द उच्चारण नगरि ‘त्यो पर्दैन’ भन्नुभएका थियो । ओलीले राष्ट्रपति संस्थाको मानमर्दन गरेकाले ३१ गतेको शपथ बदर गरेर अर्को पटक शपथ लिन माग गर्दै वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले आइतवार अर्थात हिजो सर्वोच्चमा रिट दायर गर्नुभएको छ ।
यो रिटमाथि सर्वोच्च अदालतले भोलिका लागि पेसी तोकेको छ । रिटमा प्रधानमन्त्री ओलीले वैशाख ३१ गते लिएको शपथ उत्प्रेषणको आदेशले बदर गरी पुनः दोस्रो पटक शपथ ग्रहण गर्नू र गराउनू भनी प्रधानमन्त्री र राष्ट्रपतिको नाममा परमादेशको आदेश माग गरिएको छ ।