खुसी हुने कि दुखी बन्ने रोजाई तपाईको

May 15, 2021 4:37 pm

अनिता अर्याल
विकासको प्रक्रियामा मानिस सर्वश्रेष्ठ प्राणी हो । प्रायः मानिसले आफुलाई मानव हो भन्नेमा मात्रै सिमित राखेका हुन्छन् भने थोरैले मानवलाई सधै आफ्नो सिमा संग जोडेर बुझ्ने गर्दछन र मानवीय विशालता वताउन प्रयोग गर्ने गरेका छन । यस धर्तीका हरेक जीव किरा,फट्यांग्रा,जनावर सबैको भन्दा मानिसको मस्तिष्क विकसित छ । हरेक जीवले जीवन प्रक्रिया सामान्य तरिकाले चलाईरहेका हुन्छन् । जस्तो कि हामी जन्मन्छौ मानव जस्तै गरि जीव जन्तु पनि जन्मन्छन् ,बढ्दै जान्छन उनीहरुले पनि जीवनयापन गर्दछन । फरक यत्ति हो उनीहरु शान्त संग जीवन चलाउदछन् हामी कोलाहल गर्छौ । हामी सामान्य कार्यका लागी पनि चिड्चिडा महशुस गर्दछौं । तैपनि हामी आफुलाई बुद्धिमान सम्झन्छौ । हाम्रो न्युरोलोजिकल प्रक्रिया धर्तीमा सबैभन्दा बिकसित छ । हामी संग भएको न्युरोलोजिकल सिस्टम का कारण पनि हामी मानिसलाई अन्य जीवले भन्दा फरक तरिकाले महसुस गर्न,अनुभव गर्न,व्यक्त गर्न आउनु पर्ने हो । तर विडम्बना मानिसले जस्तो बाँच्नका लागी संघर्ष कुनै पनि जिवले गर्नुपरेको छैन । हामी संग सुपर कम्प्युटर अर्थात मस्तिष्क छ र यो धर्तीको सबैभन्दा परिस्कृत यन्त्र पनि हो । प्रश्न यहीँ नेर छ के हामीले जीवनको युजल म्यानुअल हेरेका छौ ? हिजोआज हामी दुई चार हजारको सामान खरिद गर्दा पनि म्यान्युअल हेर्ने गर्दछौं । किनकि सामान प्रयोग गर्दा सजिलो होस् र सजिलोसँग प्रयोगमा ल्याउन सकियोस् भनेर । तर हामी संग भएको जटिल मेसिन मस्तिष्क छ यस्लाई कसरी चलाउने भन्ने पनि बुझ्नुपर्छ । नबुझी चल्न ,चलाउन खोज्छौ त्यसैले पनि समस्या आउनु स्वाभाविक हो ।

कुनै पनि एउटा कारण छैन ,जसबाट मान्छे दुखित नहोस् । जो गरिब छ ,उ गरीबी का कारण दुखी छ । जो धनी छ उ सरकारलाई बुझाउने करका कारण दुखी छ । कोही बेरोजगारी का कारण दुखी कोहि जागीरे जीवन देखि दुखी ,कोहि सन्तान नभएकोले दुखी त कोहि सन्तानको कारण दुखी । त्यसैले केहि मानिसले जिन्दगीको परिभाषा नै दु:ख हो भन्ने गरेका छन् । जीवन न त पीडा न त खुशी यो त एक सानदार प्रक्रिया मात्रै हो । जीवनमाथि नै सवार गर्न सक्यौं भने यो उल्लासमय र चारैतिर हरियाली छ । नभए भयंकर लाग्दछ । सवाल यही हो कि हामी सवार छौ वा जीवनलाई नै कुल्चिएर हिडिरहेका छौ ? बस्दा दुःख ,उठदा दुःख,केहि भएर पनि पीर ,केहि नहुदा पनि पीर । हामी खुशी रहने कि पीरमा ? थोरै कारण मात्रै होला बाहिरी बाँकी हामी भित्र बाटै उत्पन्न हुन्छ ।उज्यालो,अध्यारो,दुःख,परमानन्द हामी भित्रै छ । बाहिरी दुनियाँमा के हुन्छ भलै त्यो हाम्रो हातमा नहोला तर कमसेकम हामी आफू भित्र के हुन्छ त्यो चाहिँ हाम्रै हातमा छ । र त्यो हाम्रो तरिकाले चल्नुपर्छ ।

आफू भित्रको भावलाई उक्साउन केहि भुमिका बाहिरी बाताबरणले खेल्न सक्ला तर जे बाहिर देखिन्छ त्यो हामीले हामीलाई नै चलाए अनुसारको हुनुपर्छ । यसलाई इनर इन्जिनियरिङ भनिन्छ । अन्यथा हामी आफ्नो नियन्त्रण भन्दा बाहिर रहेको भन्ने बुझिन्छ । हामी असाधारण सुबिधाको आनन्द लिने आज सम्मको आरामदायी पिढी हौ । जुन हामी भन्दा अघिल्लो पुस्ताले कल्पना समेत गरेका थिएनन् । हामीले आजभन्दा सय बर्ष पहिलेका राजाले भन्दा कयौं गुना सुःख सुबिधा भोग गरिरहेका छौ र पनि खुशी हुन सकिरहेको छैनौ । यसर्थ पनि खुशी बाहिर बाट मिल्दैन । बाहिरी साधन बाट केवल सुबिधा जुटाउन सकिएला,आराम बटुल्न सकिएला तर खुशी प्राप्त गर्न आफै भित्रको मानवीय अनुभवको प्रयोग गर्न जान्नु पर्दछ । कसैले हामीलाई दुःख चाहान्छौ कि खुशी भनेर प्रश्न गरे भने सबैको उत्तर खुशी भन्ने नै हुन्छ । तर हामीलाई दुखित तुल्याउनका लागी र आफै बसेको स्थान नर्क समान बनाउनमा स्वयं काफी छौ । कुनै नयाँ ठाउँमा गएर खुशी हुन्छु भन्नु पनि मुर्खता हो किनकि आफु, आफ्नो मन र स्वभाव आफै संग हुन्छ ।