पूर्वी चितवनमा प्रतिकट्ठा ३५ क्विन्टल खरबुजा उत्पादन भए पछि किसान मख्ख

May 14, 2021 8:03 pm

रामु आचार्य
खैरहनी : पूर्वी चितवनमा खरबुजाको राम्रो उत्पादन भए संगै किसानहरु मख्ख छन् । खरबुजा बलौटे खोलाका तिरहरुमा मात्र हुन्छ भन्ने बुझाईलाई खैरहनीका किसानहरुले गलत सावित गरिदिएका छन् । खैरहनी नगरपालिका वार्ड नम्वर १० कठारका किसानहरुलाई यतिबेला खरबुजा बेचेर भ्याईनभ्याई छ । मकै बारीमा सहायक बालीको रुपमा लगाईएको खरबुजा अहिले बजारको लागि तयार छ । कोरोना भाईरसको महामारीको कारण निषेधाज्ञा जारि भए पनि उपभोक्ताहरु खरबुजा खोज्दै किसानको घर सम्म नै जाने गरेका छन् ।

खरबुजाको उत्पादन बिगतका बर्षहरुमा पनि राम्रो हुने गरेपनि यस बर्ष अझै धेरै भएको कठारका किसानहरु बताउछन । यसपटक प्रतिकट्ठा ३५ क्विन्टल सम्म खरबुजा उत्पादन भएको किसान दिवस गिरि बताउछन । असिना बाट जोगिएमा तथा जल र मललाई ख्याल गर्न सकियो भने खरबुजाको उत्पादन राम्रो हुने समेत उनको कथन थियो ।

अरु बालीमा रोग र किराको आक्रमण बढि भए पनि खरबुजा बालीमा त्यसको प्रभाव अति नै न्यून हुने गरेकाले किसानको ध्यान खरबुजा बालीमा गएको हो । बजारमा ५० देखि ६० रुपैया किलो पर्ने खरबुजा खैरहनिको किसानहरुले खुद्रा प्रतिकिलो २५ रुपैया केजी त्यस्तै थोक मुल्यमा १५ देखि २० रुपैयाको बिचमा बिक्रि गरिरहेका छन् । पुर्विचितवनमा लगाईने बालि भन्दा खरबुजा बालि फरक भएको कारण पनि किसानलाई प्रोत्साहन गरि स्थानिय सरकारले बिशेष कार्यक्रम ल्याउनुपर्नेमा किसानहरुको जोड थियो ।