हौसला प्रदान गर्न कोरोना संक्रमितको घरमा रत्ननगरका मेयर

May 11, 2021 5:41 pm

रत्ननगर,वैशाख २८
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई भेट गरी औैषधि र हौसला प्रदान गर्ने कामको शुभारम्भ गरेका छन् । मेयर वनले घरघरमा पुगेर संक्रमितलाई रोगप्रतिरोधात्मक औषधि र आत्मबल बढाउन हौसला प्रदान गर्ने कामको शुभारम्भ गरेका हुन् । मंगलबार वडा नं १० मा संक्रमितलाई भेट्ने र औषधि वितरण गर्ने काम सुरु गरिएको छ । मेयर वनले पहिलो दिन वडा नं १० र १ मा होम आइसोलेसनमा रहेका संक्रमितलाई भेट गरी औषधि वितरण गर्नुका साथै हौसला प्रदान गरे ।

स्वास्थ्यकर्मी र अन्य जनप्रतिनिधिसहित घरघरमै पुगेका मेयर वनले संक्रमित बिरामीलाई नियमित औषधि सेवन गर्न र समस्या भए तुरुन्त जानकारी गराउन आग्रह गरेका छन् । टोलीमा मेयर वनसहित नगरस्तरीय कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक केशव आचार्य, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, सहसंयोजक नरहरि श्याम शर्मा,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य देवेन्द्रकुमार यादवलगायतको टोली संक्रमितको घरघरमै पुगेर औषधि वितरण गरेको हो । टोलीले संक्रमितको अवस्था बुझ्ने, हौसला प्रदान गर्ने काम गरेको वडाध्यक्षसमेत रहेका समितिका संयोजक आचार्यले बताए । ‘होम आइसोलेसनमा बसेका संक्रमितहरुलाई औषधिसहित हौसला आवश्यक पर्छ’, मेयर वनले भने, ‘स्थानीय सरकारको अनुभूति दिलाउने र संक्रमितलाई अभिभावकत्व प्रदान गर्न घरघरमै पुगेका हौँ ।’

सो नगरपालिकाले संक्रमितको अवस्था बुझ्न १६ वटै वडामा एक÷एक जना स्वास्थ्यकर्मी तोकेको छ । संक्रमित आफैले स्वास्थ्यकर्मीलाई फोन गरेर समस्याको राख्न सक्ने छन् । यसबाहेक नगरपालिकाले दैनिकजसो होम आइसोलेसनमा रहेका संक्रमितलाई फोन गरेर स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने व्यवस्था मिलाइएको मेयर नारायण वनले जानकारी दिए । रत्ननगरमा अहिलेसम्म २०२ जना होम आइसोलेसनमा,२१ जना अस्पतालमा उपचाररत छन् । कोरोना संक्रमणका कारण रत्ननगरमा पाँच जनाको मृत्यु भएको छ ।