चितवन उद्योग संघद्धारा नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

May 9, 2021 6:09 pm

भरतपुर : सामाजिक उत्तर दायित्व बहन गर्दैै चितवन उद्योग संघद्वारा कोरोना संक्रमणको दर बढिरहेको वर्तमान अवस्थामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अनुसार जिल्लामा खटिने पत्रकारहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै नेपाल पत्रकार महासंघ चितवन शाखालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामाग्री वितरण अभियानमा चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीलाई पाँच हजार पिस माक्र्स, ९६ पिस सेनिटाइजर, १०० पिस फेस सिल्ड हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्षलाई संघको बिधान बमोजिम प्रेस सल्लाहकारमा नियुक्ति गरिने व्यवस्था अनुसार नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारीलाई चितवन उद्योग संघको प्रेस सल्लाहकारमा नियुक्त गरिएको पत्र समेत हस्तान्तरण गरिएको थियो । सोही अवसरमा १२ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष, पदाधिकारी एवं सदस्यज्यूहरुलाई बधाई पत्रद्वारा बधाई समेत ज्ञापन गरिएको थियो ।

संघका अध्यक्ष राजु पौडेलले स्वास्थ्य सामाग्री वितरण गर्दै संघबाट सञ्चालन गरिने विभिन्न क्रियाकलापहरुसँग सम्बन्धित सूचनाहरु निष्पक्ष, स्वतन्त्र र प्रभावकारी रुपले संकलन र प्रसारण गर्न, संघको अनुरोध बमोजिम पत्रकार महासंघबाट पत्रकारहरुको सहभागिता गराउने लगायतका विषयहरुमा पूर्ण सहयोग रहनेमा विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीले संघले थालनी गरेको अभियानलाई महासंघको तर्फबाट निरन्तरता दिन र पत्रकारिताको माध्यमबाट औद्योगिक प्रबर्धनका विषयमा कलम चलाउन पहल गर्न आफूहरु तयार रहेको बताउनुभयो ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष भेषराज दुवाडी, नेपाल पत्रकार महासंघका सल्लाहकार तिलक रिमाल, उपाध्यक्ष प्रकाशमणि ज्ञवाली, कोषाध्यक्ष राजेन्द्र आचार्य, पत्रकारहरु सूर्यप्रसाद अधिकारी, किशोर सापकोटा, रामु आचार्य, संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, सञ्चार अधिकृत राजु भट्ट, लेखा अधिकृत सुरेन्द्र ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।