ओलीका प्रतिनिधिसँगको बार्ता उपलब्धिविहिन, माधव नेपालपक्ष पून: छलफलमा

May 9, 2021 6:04 pm

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पून: आफूनिकट सांसदसँग छलफलमा जुटेका छन् । सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको हलमा ओलीका प्रतिनिधि विष्णु पौडेल र सुवास नेम्वाङसँगको संक्षिप्त छलफलपछि नेता नेपाल छलफलमा जुटेका हुन् ।

पार्टी विभाजन र नेपाल पक्षका सांसदको राजीनामा रोक्ने प्रयास जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओलीका प्रतिनिधिसँग नेपालको वार्ता आधा घण्टामै टुंगिएको थियो । पौडेल र नेम्वाङसँगको वार्तालगत्तै माधव पक्षका सांसदहरूको बैठक सिंहदरबारमा बसिरहेको छ ।

वार्ता उपलब्धिमूलक हुन नसकेको नेपाल निकट स्रोतले जनाएको छ । ओली र नेपालबीच टेलिफोनमा कुराकानीपछि वार्ताका लागि पौडेल र नेम्वाङलाई खटाइएको थियो । वार्ताको विषयमा नेपालले कुनै प्रतिक्रिया दिन मानेनन् । नेम्वाङले भने फेरि पनि आवश्यकता अनुसार ओली र नेपालकै तहमा वार्ता हुनसक्ने बताए । वार्तामा पौडेल र नेम्वाङले राजीनामाको बारेमा र माधव पक्षले सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने बारेमा चासो राखेका थिए । वार्तापछि पौडेलले राजीनामाको कुरा नआएको बताए ।