रत्ननगरका मेयर र उपमेयर चढ्ने गाडी कोरोना संक्रमितलाई अस्पताल लैजान प्रयोग गरिने

May 8, 2021 1:53 pm

चितवन,बैशाख २५
चितवनको रत्ननगर नगरपालिकाका मेयर,उपमेयर तथा प्रमुख प्रशासकीय अधिकृतले चढ्ने गाडी कोरोना संक्रमितका लागि प्रयोग गरिने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि मेयर नारायण वन,उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल र योजना शाखाका कर्मचारीहरुले प्रयोग गर्दै आएको अर्को एउटा गरी चार वटा गाडी कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान प्रयोग गरिने भएको हो ।

कोरोना संक्रमितलाई अस्पताल लैजान एम्बुलेन्स लगायत अन्य सवारी साधनको माग बढ्न थालेपछि मेयर नारायण वनले शुक्रवार नै आफु चढ्दै आएको सहित चारवटा गाडी संक्रमितका लागि प्रयोग गर्ने घोषणा गरेका हुन । मेयर वनले चढ्दै आएको बा.२ झ ३३९९,उपमेर दुवाडीले चढ्दै आएको ना.१ झ १५८६,प्रमुख प्रशासकीय अधिकृत पौडेलले चढ्दै आएको बा.१२ च.२७१ र कर्मचारीले प्रयोग गर्दै आएको बा.२ झ १२१७ नम्बरको गाडी कोरोना संक्रमितलाई घरबाट आइसोलेसन र आइसोलेशनबाट अस्पताल लैजान प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

अब हाम्रा गाडीहरु एम्बुलेन्सका रुपमा प्रयोग गर्दै छौं मेयर वनले भने कोही पनि नगरबासी सवारी साधन नपाएर छटपटाउनु पर्दैन । मेयर वनले सवारी साधनको आवश्यक परे ढुक्क भएर नगरपालिकामा सम्पर्क गर्न समेग आग्रह गरेका छन् । । छिटो छरितो रुपमा सेवा दिनको लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितको लागि प्रयोगमा ल्याइएको मेयर वनको भनाई छ । यस अघि रत्ननगरले कोरोना संक्रमितलाई अस्पताल लैजान निशुल्क एम्बुलेन्स सेवा सुरु गरिसकेके छ । होम आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई घरघरमै पुगेर यहाँका स्वास्थ्यकर्मीहरुले उपचार तथा रेखदेख गर्दै आएका छन् ।