रत्ननगरको विशेष नगर सभा : विधेयक,नियमावली र कार्यविधि पारित

April 23, 2021 6:27 pm

रत्ननगर,वैशाख १०
रत्ननगर नगरपालिकाको शुक्रवार सम्पन्न विशेष नगर सभाले तीन महत्वपूर्ण विधेयक,नियमावली र कार्यविधि पारित गरेको छ । विशेष नगर सभा गरी सो नगरपालिकाले भूमिहीन दलीत,भूमिहिन सुकुमबासी र अव्यवस्थितलाई लालपूर्जा वितरणको लागि अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि पारित गरेको हो । भूमिहीन दलीत र भूमिहीन सुकुमबासी बाहेक अव्यवस्थित बसोबासीलाई लालपूर्जा उपलब्ध गराउने विषयमा सो नगरपालिकाले केन्द्रीय कार्यविधिलाई अस्विकार गर्दै आफैले कार्यविधि बनाएको हो ।

सो नगरपालिकाले नगरपालिका तर्फ विगत चार बर्ष देखि निरन्तर एउटै पदमा कार्यरत कर्मचारीलाई एकतह बढुवा सहित समायोजन गर्ने गरी कर्मचारी समायोजन विधेयक ल्याएको छ । सो विधेयक पनि नगरसभाबाट पारित भएको छ । ६६ जना कर्मचारीहरुको प्रतिमहिना १० प्रतिशत तलब र सो मा सतप्रतिशत थप गरी कल्याणकोष बनाउने गरी अस्थायी तथा करार कर्मचारी कल्याणकोष नियमावली नगर सभाले पारित गरेको मेयर नारायण वनले जानकारी दिए । सो नियमावली पास भएसंग अब रत्ननगरमा काम गर्ने अस्थायी तथा करार कर्मचारीहरुले पनि उपदान पाउने भएका छन् ।

नगर सभामा उपमेयर विमला दुवाडीले न्यायिक समिति र राजश्व परामर्श समितिले गरेका कामको प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक राजन भट्टले अव्यवस्थित बसोवासी व्यवस्थापन कार्यविधि,विधान समितिका संयोजक तिलकराज शर्माले अस्थायी तथा करार कर्मचारी कल्याणकोष नियमावली,क्षमता विकास तथा सेवा प्रवाह समितिका सदस्य रविन्द्र चौधरीले कर्मचारी सामायोजन कार्यविधि प्रस्तुत गरेका थिए । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले राष्ट्रिय जनगणना २०७८ का विषयमा प्रस्ताव प्रस्तुत गरेका थिए । सभामा मेयर नारायण वनले अव्यवस्थित बसोबासीका नाममा धनाढ्यले जग्गा पाउने केन्द्रीय कार्यविधि आफुहरुलाई अस्विकार्य रहेको भन्दै भावी सन्ततीका लागि सार्वजनिक जग्गा जोगाउन छुट्टै कार्यविधि बनाएको बताए ।