थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो

March 30, 2021 9:57 am

काठमाडौं,चैत १६
नेपालले दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई हराउदै थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २ १ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो । खेलमा नेपाल सुरुवातदेखि नै हावी भएको थियो ।

यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरे । सन् २०१५ अगष्ट २१ मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विशालले नेपालका लागि गरेको यो चौथो गोल हो ।

च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो । नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए । पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लियो ।