क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राखौं : गृह मन्त्रालय

March 24, 2021 8:05 pm

काठमाडौँ :छिमेकी मुलुक लगाएत विश्वभर साथै नेपालमा पनि पुन: कोभिड १९ को संक्रमण बढ्दै गएको सन्दर्भमा गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई दिनअघि नै परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए । उनका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ ।

बुढाले भने, ‘क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्नसँगै जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि भनेका छौँ । भीडभाड कम गर्न र नागरिकलाई सचेत गराउन निर्देशन दिइएको हो ।’